
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र भाँडो रित्तिएर बिर्को मात्र बाँकी रहेको बताएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी ललितपुरले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई काँग्रेसको पुच्छर भएको बताए ।
उनले भने, ‘माओवादीको भाँडो रित्तिसक्यो, बिर्कोमात्रै छ । त्यहीँ बिर्को छ, नेताहरु छन–२/४ जना अरु हिँडिसके । त्यसैलाई उनीहरु केन्द्र भन्छन् । माओवादी केन्द्र र माकुने गुट भनेका काँग्रेसको जिउमा बसेका झिँगा र मछट धपाउने राम्रो झुम्का भएको चौंरीको पुच्छर जस्तो पुच्छर मात्रै हो । उनीहरुको केही उपादेयता छैन । यस्ताहरु एमाले सिध्याउने भनेर हिँडेका ।’
ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको आरोप पनि लगाएका छन् ।
उनले विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकारले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको बताए ।
ओलीले चुनाव सार्ने षडयन्त्रको मतियार नबन्न पनि विप्लव नेतृत्वको नेकपालाई आग्रह गरे । उनले २०५९ सालमा जस्तो चुनाव सारेर स्थानीय तहलाई रिक्त बनाउने गल्ती नदोहोर्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिए ।
स्थानीय तहको निर्वाचन सारे देशको हितविरुद्ध हुने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यो आफ्नो पार्टी र नेपाली जनतालाई सह्य नहुने बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit