Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

अहिलेको सरकार बालुवामा गाडेको नक्कली मुला हो, चुनावबाट उखेल्छौं : ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिँदै परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको बताएका छन् । 

 

शनिबार नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूर्ण रुपमा उखेलिने बताएका हुन् ।

 

अध्यक्ष ओलीले आफ्नो कार्यकालमा नेपाली काँग्रेसका नेताहरुले कर्मचारीहरुलाई सरकारलाई सहयोग नगर्न दबाव दिएको दाबी गर्दै उनीहरुको सोच अलोकतान्त्रिक सोच भएको जिकिर गरे । उनले निजामती कर्मचारीहरुले पूर्ण रुपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकार ठीक बेठीक छुट्याएर नबस्न आग्रह गरे । 

 

अध्यक्ष ओलीले अहिले सरकारमा रहेका केही मन्त्रीहरु परमादेशबाट झुक्किएर पावरमा पुगेको बताए । 

 

‘कहिले कहिले खासै स्ट्रेन्थ नभएका, केही पनि नभएका मानिसहरु पनि झुक्कल पुक्कल, अनेक जाल, तिक्डम, आदि इत्यादी परमादेश, जारी भएका बखत यस्ता हुलमालमा त्यस्ता मान्छेहरु पनि पावरमा पुग्न सक्छन् । त्यसरी पावरमा पुगेभने त्यस्ता मान्छेहरुमा उन्माद चढ्न सक्छ । त्यो उन्मादले देश, जनता, लोकतन्त्रको हित, संविधानको रक्षा, कार्यान्वयको वास्ता गर्दैन । मै सबथोक छु । मै शक्तिशाली छु भन्ने ठान्छ । त्यसरी उसले अहंकार देखाउँछ । कहिले कहिले टेलिभिजनमा मन्त्रीका भाषण देख्दा अचम्म लाग्दैन ? हुम् हुम् हुम् गर्छन् । तपाईहरुलाई अचम्म लाग्दैन ? क्या मन्त्री ? कहाँबाट आयो यस्तो मन्त्री ? कसरी आयो ? कस्तो कस्तो मान्छे ? अखडामा कुस्ती खेल्न पस्दैछ कि ? रेस्लिङको रिङमा पस्दैछ कि ? साधारण मान्छेहरु पनि अचम्म मान्छन् । त्यो के हो भने उन्माद हो,’ उनले भने ।

 

 ‘त्यसैले हामीले सही प्रतिनिधिहरु ल्याउनुपर्छ चुनावबाट । त्यस्ता पात्रहरु चुनावसँग डराउँछन् । चुनाव भनेपछि कहिले अदालत लौ न नि चुनाव भयो, ग¥यो, प्रतिगमन हुने भयो देशमा, चुनाव भएर जनताले भोट हाल्यो भने हामी त स्वाहा सुन्नुभएन ? आफू स्वाहा हुन्छु भनेर चुनाव र जनतामा जाने कुरालाई स्वाहा भन्छन्, प्रतिगमन भन्छन्,’ ओलीले भने ।

 

अध्यक्ष ओलीले नेकपा एमालेलाई आगामी निर्वाचनमा पहिलाको जस्तो कमजोर नआँक्न चेतावनी दिए । उनले एमालेले आगामी निर्वाचनमा स्वीप आउट गर्ने दाबी गरे । अध्यक्ष ओलीले एमालेले पाँच वर्ष सरकार सञ्चालन गरेको भए एक्लै ८० प्रतिशत भन्दा बढी भोट ल्याउने दाबी गर्दै चुनावबाट डराउने र एमालेबाट डराउनेहरुले कानून भन्दै रोएर आफ्नो सरकार ढालेको बताए ।

 

एमालेलाई अदालतबाट हटाउनेहरुले एमाले सकियो भन्दै गरेको उल्लेख गर्दै एमाले एउटा भेल भएको र भेलमा पस्नेलाई बडारेर लैजाने दाबी गरे । एमालेरुपी भेल पुनः सरकारमा आगामी निर्वाचनबाट आउने उनको भनाइ थियो ।

 

अध्यक्ष ओलीले (नेकपा माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै आफ्नो सरकार एउटा टेकोले नबन्ने भएपछि अर्को टेको लगाएर बनाएको र उक्त टेको भाँचिएको बताए । उनले स्वार्थी र कमजोर टेको परेकोले पूरा सरकार चलाउन नसकेको बताए । 

 

अध्यक्ष ओलीले सांसदले भत्ता खाने बाहेकको काम गर्न नसकेको पनि बताए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै