Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

विदेशमा नागरिकलाई अलपत्र पार्ने दलाललाई खोजी खोजी कारबाही गर्छौँ : श्रममन्त्री 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पु-याई नेपाली नागरिकहरुलाई अलपत्र बनाउने वैदेशिक रोजगार व्यवसायीहरुलाई सरकारले कारबाही गर्ने बताएका छन् ।

 

 

बिहीबार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भई फर्केकाहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले आकर्षक रोजगारीको प्रलोभन देखाई विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावर कम्पनीहरुको फन्दाबाट जोगाउन सरकारले मन्त्रालयका उपसचिव तथा सिआईबीका प्रहरी नायब उपरिक्ष सम्मिलित मार्सल टिम गठन गरेको बताएका छन् । 

 

 

उनले भिजिट भिसामा यूएई लगेर अलपत्र बनाउने दलालहरुलाई क्षमासमेत दिन नमिल्ने भन्दै सरकारले दलालहरुलाई खोजी खोजी कारबाही गर्ने बताएका छन् । उनले विदेश जाने नेपालीहरुले पनि एक पटक कम्पनी र कामको बारेमा बुझेर जानुपर्ने बताएका छन् । उनले आउँदो आइतबारबाट मन्त्रालयमा २४ सै घण्टा सेवा उपलब्ध हुनेगरी गुनासो सेन्टर स्थापना हुने बताएका छन् ।

 

 

‘हामीले एउटा मार्सल टिम एक्शनमा जाने गरी दलालहरुलाई, ठगहरुलाई, तह लगाउने गरी हामीले मार्सल टिम गठन गरेका छौँ । त्यसको नेतृत्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णु लामिछाने सर, सिआईबीको प्रहरी नायब उपरिक्षकहरु लगायतको एउटा मार्सल टिम खटिएका छौँ । विशेष गरी आज मार्सल टिमको काम जो पीडित भएर, दुःख पाएर दुबईबाट फर्किनुभएका भाइहरुको पनि वेदना, पीडा सुन्नेछौँ’ उनले भने । 

 

 

‘कोमलराज उपाध्याय भन्ने जस्ता धेरै व्यक्ति यूएईमा छन् भन्ने सुन्नमा आएको छ । म यही मिडियाबाट कोमलराज उपाध्यायलाई भन्न चाहन्छु, यो बीचमा म एक्शनको रुपमा अघि बढेपछि भाईहरुलाई नेपाल पठाउनु भयो धन्यवाद छ ।  म तपाईलाई के पनि चेतावनी दिन चाहन्छु भने अब पानी मुनि गए पनि तपाईले गरेका अपराध छोडिँदैन । कि तपाईले आत्मसमर्पण गरेर आफूले गरेका गल्ती स्वीकारेर झुक्याएर, ठगेर लगिएका नेपालीहरु हुनुहुन्छ, उहाँहरुलाई छिटो भन्दा छिटो नेपाल पठाउनुस् भन्न चाहन्छु । मान्छेबाट गल्ती हुनसक्छ तर यो गल्ती स्वीकार गर्न सकिने गल्ति छैन । तपाई लगायत यूएईमा बसेर नेपाली सोझा मानिसलाई दुःख दिने काम गर्नेहरुलाई यो सरकारले छोड्नेवाला छैन’ उनले भने ।

 

 

त्यस्तै पीडितहरुले एक महिनासम्म काम लगाइदिने आशा गरेर बसे पनि काम नपाएपछि नेपाल सरकारलाई गुहारेको बताउँछन् । आकर्षक पारिश्रमिक हुन्छ भन्ने आशाले भिजिट भिसामा यूएई गएपनि दलालहरुले कुनै रोजगारी नदिएको गुनासो गरेका छन् । पीडितहरुले भिजिट भिसामा जानु आफ्नो गल्ती भएपनि गएपछि बेरोजगारी बनेर काम नपाइनुले थप समस्या सिर्जना भएको बताएका छन् ।  पीडितहरुले त्यहाँ रहेको दुतावासले कुनैपनि सहयोग नगरेको गुनासो गरेका छन् ।

 

 

पीडितहरुले आर्थिक श्रोत कमजोर भएको र आकर्षक रोजगारी पाउने लोभको कारणले बाध्य भएर भिजिट भिसामा गएको तर दलालहरुले दुबई विमानस्थलमा पासपोर्ट र एक हजार डलर समेत लगेको गुनासो गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) का स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कामदारलाई यसरि लैजानु यूएई र नेपाल सरकारबीच भएको श्रम सम्झौता विपरीत हो ।

 

 

लामो समय बेखबर जस्तो बनेको नेपाल सरकार केही दिन यता तातेको छ । हजारौं नेपाली रोजगारीको प्रलोभनमा परी भिजिट भिसामा यूएई पुग्ने र अलपत्र पर्ने क्रम बढेसँगै बैदेशिक रोजगार व्यवसायीलाई नै सरकारले कारबाही गर्ने भएपछि व्यवसायीहरुले मान्छे फिर्ता ल्याउन पनि थालेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै