
नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीले पनि पुस २९ गते (बिहीबार) देखि खोप केन्द्र संचालन गर्ने भएको छ । निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र संचालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिकले खोपकेन्द्र संचालन गर्न थालेको अस्पतालले जनाएको छ ।
उसले सरकारी स्वास्थ्य संस्थाहरुको सहकार्यमा खोपकेन्द्र संचालन गर्न लागेको हो ।
काठमाण्डौको थापाथलीस्थित नर्भिक अस्पतालले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियानलाई सहयोग गर्न खोपकेन्द्र संचालन गर्ने जनाएको हो ।
स्वास्थ्यमन्त्रालयले तोकेको उमेर समूह र लक्षित वर्गका लागि दैनिक रुपमा खोपकेन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।
साबिकको ज्वरो क्लिनिक परिसरमा व्यवस्थित ढंगले खोप अभियान संचालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको मिश्रले बताए ।
उनकाअनुसार स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना हुने गरी व्यवस्थित ढंगले खोप अभियान संचालन हुनेछ ।
नर्भिकमा हाल कोभिशिल्ड र भेरोसेल गरी दुई खालका खोप उपलब्ध हुनेछन् । सर्वसाधारणले नर्भिकको खोप केन्द्रमा आएर सुरक्षित ढंगले खोप लगाउनसक्नेछन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit