Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

तथ्य र तथ्यांकमा टेकेर बहस गर्न प्रधानमन्त्रीलाई गगन थापाको चुनौती


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरेका कामहरुको तथ्य र तथ्यांकमा टेकेर संसदभित्र बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिएका छन् ।

 

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उनले मिथ्यांक अघि सारेर संसदबाहिर सभा सम्मेलनमा नभई तथ्यमा संसद भित्र बहस गर्न प्रधानमन्त्रीलाई चुनौती दिएका हुन् । 

 

उनले कसैले प्रश्न नगर्ने सभा सम्मेलनमा प्रधानमन्त्रीले मिथ्यांक प्रस्तुत गर्ने गरेको दाबी गर्दै एक–एक वटा आयोजना र कामका बारेमा संसदमा बहस गर्न चुनौती दिए । 

 

‘प्रश्न नगर्ने ठाउँमा हुक्के, चिलिमे, बैठके, चौतारे राखेर तपाईले माथिबाट ठोक्ने, तलबाट तालि बजाउने अनि माननीय सांसदहरुले संसदमा आएर बालकविता सुनाएर बस्ने होइन । तपाईसंग बहस गर्न तयार छौ, तपाईले प्रस्तुत गर्नु भएको तथ्यमा टेकेर,’ उनले भने ।

 

थापाले सरकारको ३ बर्षे कार्यकालमा विकास निर्माणका काम चामत्कारिक ढंगले भएको भन्ने प्रधानमन्त्रीको दाबीलाई ‘अल्पज्ञान’को संज्ञा दिए । प्रधानमन्त्रीले संसदको रोष्टममा उभिएर २०७५ सालको अशोज सम्म मेलम्चीको पानी आउँछ भने पनि प्रधानमन्त्री र मन्त्रीको कुरा नमिल्दा र ठेकेदारसंग कुरा नमिल्दा साढे २ वर्ष बढी समय लागेको र डेढ अर्ब रुपैयाँ अनावश्यक खर्च भएको उनले बताए । 

 

‘कहिले धारा खोलेर, कहिले बाल्टिन थापेर, कहिले उठेर, कहिले बसेर उद्घाटन गरेको छ । तमासा गरेको छ । चमत्कार भयो भनेको छ । ६७ सालमा सुरु भएको अपर तामाकोशी ७३ सालमा सकिनुपर्ने अब आउने सालको वैशाखतिर पहिलो युनिट सुरु हुँदै छ । अब हेर्नुहोला सभामुख महोदय, हामी हेर्छौं, ठ्याक्कै मेलम्चीको जस्तो अहिले गरिएको जुन तमासा छ, अब यो तामाकोशीमा देखाईनेवाला छ । गजबै भो । चमत्कारै भो । प्रधानमन्त्री त कस्तो कस्तो । फ्याट्ट बिजुली बाल्दिनु भो । पानी झार्दिनुभो । अब कविताहरु हामी सुन्न पाउनेवाला छौ । ”

 

उनले बुढीगण्डकी, फास्टट्रयाक, पश्चिम सेती, कर्णाली करिडोर, कोशी करिडोर, बबई सिंचाई आयोजना, सिंक्टा सिंचाई आयोजना लगायत बर्षोदेखि थला परेका राष्ट्रिय गौरवका आयोजनाहरु को निर्माण सम्पन्न गर्ने सम्बन्धमा भने सरकार उदासीन भएको आरोप लगाए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै