Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

योगेश भट्टराईलाई तान्न ओलीको चाल, पहाडीलाई मन्त्री उपहार

साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित भएका गणेशकुमार पहाडी बिहीबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा नियुक्त भएका छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विस्तार गरेको मन्त्रिपरिषदमा उनले सो मन्त्रालयको जिम्मेवारी पाएका हुन् । नवनियुक्त मन्त्री पहाडी विसं २०७४ को निर्वाचनमा सिन्धुली–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । 

 

नेकपा एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी दोस्रो संविधानसभाको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

 

सिन्धुलीस्थित फिक्कल गाउँपालिका-४ खाङसाङ स्थायी ठेगाना भएका पहाडी संघीय राजधानी काठमाडौँमा बस्छन् । २०२६ असार ९ गते सिन्धुलीमा जन्मिएका उनको परिवारमा श्रीमती शोभा खड्का, एक छोरी र एक छोरा  छन् । पहाडीको शैक्षिक योग्यता बलियो छ । उनले समाजशास्त्रमा स्नातकोत्तर र सिभिल इन्जिनियरिङ गरेका छन् ।


पहाडी नेता योगेश भट्टराईनिकट हुन् । पहाडी विद्यार्थीकालदेखि नै भट्टराईसँग निकट रहँदै आएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका पहाडी पछिल्लो समय मौन रहेका थिए । नेपाल गुटबाट योगेश भट्टराई आफ्नो पक्षमा पार्न ओलीले पाहाडीलाई प्रयोग गरेका छन् ।

 

उनी विसं २०५४ मा खाङसाङ गाविसमा अध्यक्षका रुपमा निर्विरोध निर्वाचित भएका थिए । पार्टीमा उनी विसं २०६७ मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका थिए । 

 

विसं २०३९ मा अनेरास्ववियु एकता, पाँचौँ बाट राजनीति शुरु गरेका उनले २०४८ सालमा एमालेको सिन्धुली काठमाडौँ सम्पर्क मञ्चको संयोजक समेत गरे। 

 

उनी विसं २०६५ मा जिल्ला कमिटी सचिव र विसं २०६६ मा जिल्ला संयोजक भएका थिए । स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उनी दुवै पटक सांसद् हुँदा प्रतिनिधिसभाको विकास समितिका सदस्य थिए । 

 

यसअघि गत पुसमा प्रधानमन्त्री ओलीले गर्नुभएको मन्त्रिपरिषद् विस्तारमा गणेशसिंह ठगुन्नाले सो मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै