
राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०७७/०७८ को सम्पत्ति विवरण सम्बन्धी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ।
बुधबार केन्द्रका सचिव सुशिल चन्द्र तिवारीले आयोगलाई उक्त प्रतिवेदन पेश गरेका हुन् । सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले सुरु नियुक्तिको ६० दिनभित्र र हरेक आर्थिक वर्ष कानुन बमोजिम आफ्नो सम्पत्तिको स्रोत वा निस्सा सहितको अध्यावधिक विवरण पेश गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै उक्त विवरणबारे राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्ने व्यवस्था रहेको र तोकिएको म्यादभित्र सम्पत्तिको विवरण पेश नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्ने प्रयोजनको लागि उक्त प्रतिवेदन आयोगमा पेश गरिएको हो ।
प्रतिवेदन ग्रहण गर्दै आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले ऐनद्वारा तोकिएको जिम्मेवारी पूरा गरी समयमै प्रतिवेदन पेश गरेकोमा राष्ट्रिय सतर्कता केन्द्रलाई धन्यवाद दिए । उनले समयमै आर्थिक वर्ष २०७६/७७ को सम्पत्ति विवरण पेश नगर्ने सार्वजनिक पद धारण गरेका व्यक्तिवाट कानुन बमोजिम २ लाख ३३ हजार रुपैयाँ असुल गरिएको र यो कार्य जारी रहेको समेत बताए ।
विगतको वर्ष भन्दा सम्पत्ति विवरण बुझाउने विषयमा सुधार भए पनि केही निकाय र व्यक्तिबाट समयमा सम्पत्ति विवरण नबुझाएको पाइएकोमा कार्यालय प्रमुखलाई जिम्मेवार बनाउनुपर्ने, अन्तर्राष्ट्रिय अभ्यास अनुरुप सुहाउँदो व्यवस्था मिलाउनु पर्ने, करार तथा तल्लो पदमा कार्यरत कर्मचारीहरुलाई सम्पत्ति विवरण भर्ने व्यवस्थामा ऐन/नियममार्फत संशोधन गर्नु पर्ने, अनलाइन प्रविधिमार्फत सम्पत्ति विवरण भर्ने व्यवस्था मिलाउनुपर्ने, राष्ट्रिय परिचयपत्र मार्फत यस्ता विवरणलाई उपयोग गर्न सकिने, यसो गर्दा सुरक्षा पनि कायम गर्नुपर्ने विषयमा समेत ख्याल गर्नुपर्ने उनले बताए ।
राजनीतिक पदाधिकारीले सम्पत्ति विवरण बुझाउने नैतिक जिम्मेवारीको विषय रहेको तथा राज्यका हरेक नागरिकलाई यस प्रक्रियामा आबद्ध गर्न सके मात्र सुशासन कायम हुने हुँदा यस सम्वन्धमा समेत सरकारले आवश्यक कार्य गर्नुपर्ने राईको भनाइ छ ।
प्रतिवेदनमा उल्लेखित सुझावमा सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारीको सम्पत्ति समयमै भराउने, अनलाइन सफ्टवेयरको प्रयोग गरी विवरण अद्यावधिक गर्नुपर्ने, समयमै आफ्नो सम्पत्ति विवरण नबुझाउने कर्मचारी र पदाधिकारीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने लगायतका विषयलाई आयोगले गम्भीरतापूर्वक लिने राईले बताए ।
राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८ मा केन्द्रलाई ६,९६,६२४ जनाको तथ्यांक प्राप्त भएको, यसमध्ये सम्पत्ति विवरण बुझाउने पदाधिकारी/कर्मचारीको संख्या ६,८१,२१५ (९७.७९%) तथा नबुझाउनेको संख्या १५४०९ (२.२१%) छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा सम्पत्ति विवरण बुझाउने कर्मचारी/पदाधिकारीको संख्या ६,५०,१२८ (९७.२८%) र नबुझाउनेको संख्या १८,१७० (२.७२%) को तुलनामा आर्थिक बर्ष २०७७/७८ मा थप ३१,०८७ जनाले सम्पत्ति विवरण बुझाएको तथ्यांक छ ।
त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा संघीय, प्रादेशिक तथा स्थानीय तहका सार्वजनिक पद धारण गरेका व्यक्ति मध्ये क्रमश: ९,७९७, ५७४ र ५,०३८ बाट सम्पत्ति विवरण पेश नभएको तथ्यांक छ । सम्पत्ति विवरण पेश नगर्ने कर्मचारीको संख्या मध्ये निजामती तर्फ २,४८४, नेपाल प्रहरी (सशस्त्र प्रहरी बल, नेपाल समेत) तर्फ ३०, विद्यालय शिक्षक ५,०१६, अन्य (राजनीतिक नियुक्ति तथा करारतर्फ) २,२६७, प्रदेशका ५७४ र स्थानीय तहका ५,०३८ रहेको तथ्य औंल्याउनु भयो। संघीय तहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत केही निकायले सम्पत्ति विवरण अपूर्ण रूपमा प्रविष्ट गरे गराएको वा प्रविष्टि नै नगरे नगराएको तथा सम्पत्ति सम्बन्धी तथ्यांक संकलन गरिने सफ्टवेयरमा ९ (नौ) वटा स्थानीय निकायले आफ्नो स्पष्ट विवरण नखुलाएको तथ्यांक छ ।
प्रतिवेदन अनुसार १५२ स्थानीय तहहरुले आर्थिक वर्ष शुरु भएको ९० दिनभित्र सम्बन्धित प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यस सम्वन्धी तथ्यांक उपलब्ध नगराएकोमा उक्त १५२ स्थानीय तहमध्ये मधेस प्रदेशका ४४, कर्णाली प्रदेशका २४, सुदूरपश्चिम प्रदेशका २२, गण्डकी प्रदेशका २१, लुम्बिनी प्रदेशका १६ तथा र बागमती प्रदेशका १३ र प्रदेश नं. १ का १२ वटा स्थानीय तहहरु रहेको देखाएको छ।
राष्ट्रिय सतर्कता केन्द्रले पेश गरेको प्रतिवेदन अनुसार सम्पत्ति विवरण नबुझाउने कर्मचारीहरु तर्फ नेपाल सरकारका विभिन्न निकायका विशिष्ट श्रेणीका कर्मचारी देखि कार्यालय सहयोगीहरु सम्म तथा पदाधिकारीहरु तर्फ प्रमुखरउपप्रमुख देखि गाँउ/नगर सभा सदस्यसम्म रहेका छन्।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit