
काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङगा–मुग्लिन सडक सुधार र विस्तारको काम आगामी वैशाखबाट सुरु हुने भएको छ। सो सडकको लागि वैशाखको १५ सम्ममा ठेक्का सम्झौता गरिने तयारी छ ।
सडक निर्माणको कार्य विभिन्न तीन चरणमा गरिनेछ। जसमध्ये अहिले नागढुङ्गा–नौबिसे र नौबिसे–मलेखु सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको नागढुङ्गा–नौबिसे सडक आयोजनाका प्रमुख किरण कार्कीले बताए । यससँगै अहिले परामर्शदाताको पनि छनोट गर्ने प्रक्रिया अघि बढाइएको छ । नागढुङ्गा–नौबिसे सडकको लम्बाई १२ किमी र नौबिसे–मलेखु साढे ४३ किमी हो ।
नागढुङ्गाबाट–नौबिसे र नौबिसे–मलेखु दुई प्याकेजका लागि हाल ठेक्का प्रक्रिया सुरु भएको छ । यसका लागि नेपाली र अन्तर्राष्ट्रिय दुबै निर्माण कम्पनीले आवेदन हालेका छन् । नागढुङगाबाट नौबिसे सडक दुई वर्षमा र नौबिसे मलेखु सडक तीन वर्षमा सम्पन्न गरिने प्रमुख कार्कीले बताए । तेस्रो चरणको ठेक्काका रुपमा रहेको मलेखुबाट
मुग्लिनसम्मको पनि असारसम्ममा ठेक्का प्रक्रियामा जाने गरी तयारी भएको कार्कीको भनाइ छ । ठेक्कामा जान आवश्यक तयारी सकेर आयोजनाले कागजात विश्व बैङ्कलाई पठाएको थियो ।
अहिले विश्व बैङ्कले त्यसमा अध्ययन गरिरहेको छ, सकिएपछि ठेक्कामा जान सकिन्छ ।
सडक अधिकांश स्थानमा तीन लेनमा निर्माण गरिने भए पनि बजार ठाउँमा चार लेन हुनेछ । विस्तार नै गर्न नसकिने ठाउँमा भने दुई लेन मात्रै पनि हुनसक्ने प्रमुख कार्कीले बताए ।
सडक विभागले यस अघि नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नारायणगढ–बुटवल सडक निर्माणाधीन छ । यी सडक चारदेखि छ लेनसम्म विस्तार गरिएको छ। नागढुङ्गा–मुग्लिन सडक भने कम चौडाइमा निर्माण हुने योजनाले जनाएको छ ।
आयोजना सडक निर्माणका लागि जग्गा प्राप्तिको काममा ६ महिना लागेको छ । निर्माणस्थलमा केही घरटहरा रहेकामा तीनलाई क्षतिपूर्ति दिएर हटाउन लागिएको छ । वन कटानको प्रक्रिया पनि अघि बढाइएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit