
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेण्डर हुने भएकाले नेपालले पनि भाग लिनसक्ने बताए ।
‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, ग्लोबल टेण्डर हुन्छ । नेपालकाले पनि हिम्मत गरे हुन्छ यो । यो एमसीसीको बिडिङमा सफल हुनुस् । सबभन्दा पहिले हामी खुशी हुनेछौँ,’ उनले भने ।
प्रधानमन्त्री देउवाले नेपालको निर्माण उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताए । निर्माण व्यवसायको व्यवस्थित विकासका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा देखिएका समस्याहरुको नीतिगत, कानूनी र प्रक्रियागत रुपमा सहजीकरण गर्न सरकार सकारात्मक रहेको धारणा राखे ।
कार्यक्रममा सहभागी गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास हुँदैमा अमेरिकी सेना नेपाल आउने भ्रमबाट मुक्त हुन आग्रह गरे । एमसीसी कुनै सैनिक राजनीतिक र प्रशासनिक सम्झौता नभएर विकास साझेदारीको लागि भएको उनको भनाइ थियो ।
मन्त्री खाणले निर्माण व्यवसायीको कामको क्षमता अभिवृद्धि गर्न सरकार सकारात्मक रहेको बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सार्वजनिक खरिद नियमावलीको ११ संशोधन देशको लागि एउटा मुहार फेर्ने निर्णय भएको बताइन् ।
उनले सरकारले ठूला मात्रै नभएर साधरण खालका निर्माण कम्पनीलाई पनि नियमावलीमा कसरी समावेश गर्ने विषयमा गम्भीर भएर लागेको जनाइन् ।
शहरी विकास मन्त्री रामकुमारी झाक्रीले विकास निर्माणको काममा ढिलासुस्ती हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताइन् । विकास निर्माणको काम समयमा सम्पन्न हुन नसक्नु र गुणस्तरीय काम हुन नसक्नुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको उनको भनाइ थियो ।
विकास निर्माणको काम समयमै सम्पन्न गर्न योजना छनोट, स्रोतको सुनिश्चितता तथा निर्माण व्यवसायीको प्रभावकारिता र जवाफदेहिता अनिवार्य शर्त भएको उनले बताइन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit