Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

आफूलाई प्रहरी बताउँदै बौद्धका मिश्रले यसरी गर्थे ठगी

आफूलाई प्रहरी हुँ भन्दै नगद र मोबाइल लुटपाट गरेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखान घर भएका २७ वर्षीय सुजन मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । बौद्ध क्षेत्रमा बसेर उनले लुटपाट गर्दै आएको प्रहरीले जनाएको छ ।

 

काठमाडौं महानगरपालिका–६ कुशल ब्यांकेट अगाडि दुईजना व्यक्तिहरु चिया पसलमा चिया खाइरहेको अवस्थामा आफूलाई प्रहरी बताउने २ जना व्यक्तिहरुले धाक धम्की दिई ठगी गरेको आरोपमा मिश्रलाई पक्राउ गरिएको हो ।  

 

मिश्र र अर्का एक व्यक्तिले उनीहरुलाई लागूऔषध कारोबारी भएको भनी बौद्धस्थित एक होटलको कोठामा लगि नगद ६० हजार रुपैयाँ र २ थान मोबाइल लुटि लगेका भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न मिश्रलाई पक्राउ गरेको हो । 

 

प्रहरीले सुजनको साथबाट नगद १० हजार रुपैयाँ, २ थान मोबाइल र सुजन मिश्रको नामको राष्ट्रिय अनुसन्धान बिभागको सहायक सूचक पदको परिचय–पत्र १ थान समेत बरामद गरेको छ ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले मिश्रले आफूलाई प्रहरी बताएर अन्य व्यक्तिलाई ठगी गरेको हुनसक्ने भएकाले विस्तृत अनुसन्धान गरिरहेको बताए । ‘पक्राउ परेकाको धन्दा नै प्रहरी हुँ भनी ठगी गर्ने हुनसक्छ, त्यसतर्फ पनि अनुसन्धान गर्दै छौं,’ उनले भने ।

 

मिश्रमाथि चोरी तथा डाँका सम्वन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै