Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

देशभरका तरकारी बजारमा ‘डिजिटल पे’, नक्सालमा सुरु 

नेपाल राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्यूआर कोड मार्फत भुक्तानी गर्ने अभियानको सुरुवात गरेको छ । 


डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्यूआर कोडको प्रयोग गर्ने अभियान शुरु गरेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । 

 

काठमाडौंको नक्साल तरकारी बजारमा रहेका पसलहरुमा शुक्रबार क्यूआर कोडबाट भुक्तानीको सुरुवात गर्न आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले देशभरका तरकारी बजारमा क्यूआर कोडको प्रयोगलाई प्रोत्साहन गरिने बताएका हुन् ।

 

नगदको चलनचल्तिबाट कोभिड–१९ संक्रमण जोखिमको डर भएकोले क्यूआर कोडबाट भुक्तानी गर्ने अभियान सञ्चालन गरिएको हो ।

कोभिड–१९ संक्रमणको जोखिम बढेसँगै अहिले क्यूआर कोडको प्रयोगकर्ताहरु मासिक रुपमा २० प्रतिशतले बढेको गभर्नर अधिकारीको दाबी छ ।


नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले क्यूआर कोडबाट भुक्तानी गरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्दा बैंकहरुको खर्च घटने बताए । 


ब्रिक बैंकिङको लागत क्लीक बैंकिङको भन्दा धेरै नै महँगो भएकाले बैंकहरुले क्यूआर कोडबाट भुक्तानी बढाउन प्रोत्साहन गर्नुपर्ने दाहालले बताए ।

 

त्यसका लागि बैंकहरुले डिजिटल पूर्वाधार र सुरक्षामा अझबढी लगानी बढाउनुपर्ने पनि सिइओ दाहालले जानकारी दिए ।

 

 

नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले फलफूल तथा तरकारी खरिद गर्दा क्यूआर कोडबाट बिल भुक्तानी गरी कार्यक्रमको थालनी गरेका थिए । 

 

डिजिटल भुक्तानी प्रणालीलाई सहजिकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका विक्रेताहरुलाई निःशुल्क क्यूआर कोड वितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै