
आज शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ ।
सोमबारको ७.९० अंकले वृद्धि भएको नेप्से मंगलबार ३२.२९ अंकले घटेर २ हजार ७३३.१४ अंकमा झरेको छ । आज ठूलो कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.९८ अंक, फ्लोट इण्डेक्स २.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१ अंक घटेको छ । कारोबारमा आएका २२७ कम्पनीको ७४ लाख ४८ हजार कित्ता शेयर ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
आज १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने अन्य उपसमूहको परिसूचक ०.९४ प्रतिशत बढेको छ । वित्त उपसमूहको परिसूचक सबै भन्दा बढी ३.४ प्रतिशत घटेको छ । विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । नेप्से परिसूचकमा ओरालो लागेपनि सोमबारको तुलनामा कारोबार रकम भने सामान्य बढेको छ । सोमबार ४ अर्बभन्दा कमको शेयर कारोबार भएको थियो ।
आज पनि सबै भन्दा बढी मानुषी लघुवित्तको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनी र गणपति माइक्रोफाइनान्सको शेयरमूल्य बढेको छ ।
त्यस्तै, आईसीएफसी फाइनान्स, एनआईबिएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य घटेको छ । कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको ४१ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर, महालक्ष्मी विकास बैंक र अपि पावरको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit