Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताएका छन् ।

 

शुक्रबार नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीले काठमाण्डौमा आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै उनले विदेशी शक्तिले नेपालमा नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताएका छन् । नेपालमा कुटनीतिक क्षेत्रमा काम गरेर फर्किएको एक कुटनीतिज्ञले लेखेको पुस्तकले सो कुरा स्पष्ट पारेको उनले उल्लेख गरेका छन् । 

 

नेपालमा अराजकता भित्रिन नदिने एमाले भएकाले पुस्तकमा एमाले र आफुविरुद्ध लेखिएको पनि उनले बताएका छन् । उनले नेपालमा विदेशीको हातको नियन्त्रित अराजकता र अस्थिरता पस्न नदिने र पसिहालेमा पराजित गर्ने बताएका छन् । 

 

‘एउटा नेपालमै लामो समय कुटनीतिक सेवा गरेर फर्किएको एउटा विदेशीले के लेखेको छ किताबमा भने, एउटा किताब निकालेको छ त्यो किताब पहिलो कुरो एमाले विरुद्ध छ । अलिक राम्रैसँग मेरा विरुद्ध छ । उद्देश्य के छ, के हो उनको देशको उद्देश्य भन्दा नेपालमा नियन्त्रित अराजकता फैलाउने । एउटा कुटनीतिज्ञले कबुल गर्छ लिखित रुपमा अनेकपल्ट हेरेर, लेखेर, हेरेर, सम्पादन गरेर प्रकाशन गरेको, सुविचारित ढंगले प्रकाशित गरेको पुस्तकमा’ उनले भने ।

 

‘बोल्दाखेरी बाइ द वे बोलिएको कुरा होइन । लेखेर, हेरेर, पढेर फेरी बिचार गरेर, सम्पादन गरेर प्रकाशित गरेको पुस्तकमा नियन्त्रित अराजकता हामी नेपालमा ल्याउँछौँ अथवा हाम्रो उद्देश्य नियन्त्रित अराजकता हो । त्यसको बाधक नेकपा(एमाले) हो, जसले नियन्त्रित अराजकता र अराजकता ल्याउन दिदैँन । उसले स्थायित्व, स्थिरता र शान्तिका लागि काम गर्छ । त्यसकारण हाम्रो विरोधी हो । उनको स्पष्ट छ लेखाई । त्यो कुरा हामीले बुझ्नुपर्दछ । हामी कसैलाई नेपाललाई उनीहरुको हातको नियन्त्रित ढंगको अराजकता, अस्थिरताजस्ता कुराहरु यहाँभित्र पस्न दिदैनौँ, खेल्न दिदैनौँ । खेलिहाल्यो भने पराजित गर्नेछौँ’ उनले भने ।

 

उनले राजनीतिक पार्टीले नै राष्ट्रियता र राष्ट्रिय एकता जोगाउने उल्लेख गर्दै त्यसका लागि स्पष्ट राष्ट्रिय दृष्टिकोण हुनुपर्ने बताएका छन् । एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को स्पष्ट दृष्टिकोण भएको उनको भनाइ छ । एमालेको दृष्टिकोणलाई संशोधन गरेर ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ बनाइएको उनले टिप्पणी गरेका छन् । नेपाली कांग्रेसका युवा नेता तथा १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका गगन थापाले ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ को नारा अघि सारेका थिए । उनले सोही नाराप्रति टिप्पणी गरेका हुन् । 

 

‘आजकाल अलिअलि सुन्न थालिया छ, हामीले समृद्ध नेपाल सुखी नेपाली भन्यौँ । अहिले त्यसबाट अलिअलि यताउता पार्न खोज्या, समुन्नत नेपाल सम्मानित नेपाली पो हुनुपर्छ भन्ने यताउता त्यसमा संशोधन गरेर चिन्तकहरु निस्किन खोज्या देखिन्छ । राम्रो कुरा हो त्यो । तर पहिले यस्तै भएको थियो । आफ्नो गाउँ आफैँ बनाऔँ एउटा अभियान चलेको थियो । त्यसलाई अनेक खालका नामहरुमा त्यसलाई परिवर्तन गर्न खोजियो’ उनले भने ।

 

उनले अब बस्ने केन्द्रीय कमिटी बैठकले महत्त्वपूर्ण काम गर्ने उल्लेख गरेका छन् । एमालेलाई आराम गर्ने फुर्सद नभएको भन्दै सक्रियतापूर्वक काममा लाग्न र पुरै देशलाई नै कामरेडमय बनाउन उनले नेताहरुलाई आग्रह पनि गरेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै