Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

कांग्रेसको १४औँ महाधिवेशन आजदेखि, यस्तो छ कार्यतालिका

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाटनको सबै तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

 

उद्घाटन समारोहमा कांग्रेसका शीर्षनेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका अतिथिले सम्बोधन गर्ने पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए । उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा तयार गरिएको छ । कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्तरूपमा आउने सहभागी मात्र उद्घाटनमा रहने उनले बताए ।

 

सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ ।  सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै ठाउँ बनाइएको छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ ।

 

महाधिवेशनस्थलमा पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिङ्गारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागतद्वार राखिएको छ । यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ । यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन् । अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेका र उनीहरुका लागि आवश्यक महाधिवेशनसम्बन्धी विवरणसहित झोला वितरण गर्ने काम बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सुरु गरिसकेको पार्टी कार्यालयले जनाएको छ ।

 

महाधिवेशन प्रतिनिधिका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको बगैँचामा हुने र बासका लागि राजधानीका विभिन्न होटलमा व्यवस्था गरिएको छ । यसैगरी बन्दसत्र हुने भृकुटीमण्डपको हलमा पनि ठूलो मञ्च तयार हुनुका साथै हलभित्र पनि सातवटा डिस्प्ले राखिएको छ । महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारी साधनको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाइएको छ ।

 

मङ्सिर २७ गते बिहान ८ बजेदेखि मतदान

 

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निणर्य मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

 

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

 

मतदान भने भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुने जनाइएको छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको संख्या र पदअनुसारका आकार तथा रङका मतपत्रको व्यवस्था गरिनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्नेबारे छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान गरिने भएको छ ।

 

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्गता भएका व्यक्तिबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

 

कांग्रेसको प्रथम महाधिवेशन कोलकाताको भवानीपुरमा विसं २००३ माघ १२ र १३ गतेमा भएको थियो । महाधिवेशनमा टङ्कप्रसाद आचार्य सभापति र बिपी कोइराला कार्यवाहक सभापति भएका थिए । कांग्रेसको दोस्रो महाधिवेशन बनारसमा २००४ माघ २० र २१ गते भएको थियो भने बिपी कोइराला सभापति निर्वाचित भएका थिए ।

 

कांग्रेसको २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौँमा भएको १२औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा निर्वाचित भएका थिए भने वर्तमान पार्टी सभापति देउवा २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौँमै भएको १३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हु्न् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

राष्ट्रिय खेलाडी सन्तोष साहुखलको लाइसेन्स नक्कलीको चाङमा भेटियो 

नेपालका चर्चित स्ट्राइकर तथा राष्ट्रिय फुटबल खेलाडी सन्तोष साहुखल जापानमा छन् । तर, उनको नाममा यातायात ब्यवस्था कार्यालय बाग्मतीले जारी गरेको सवारीचालक अनुमति पत्र नक्कली...

मङ्सिर २४, २०७८