Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

राष्ट्रिय खेलाडी सन्तोष साहुखलको लाइसेन्स नक्कलीको चाङमा भेटियो 

सन्ताेष साहुखल र गिराेहका साथबाट बरामद उनकाे लाइसेन्स ।

नेपालका चर्चित स्ट्राइकर तथा राष्ट्रिय फुटबल खेलाडी सन्तोष साहुखल जापानमा छन् । तर, उनको नाममा यातायात ब्यवस्था कार्यालय बाग्मतीले जारी गरेको सवारीचालक अनुमति पत्र नक्कली लाइसेन्स बनाउने गिरोहका साथबाट बरामद भएको छ । 


महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएका प्रहरीले मंगलबार गरेको विशेष कारबाहीमा पक्राउ परेका एकजना नाइकेका साथबाट सन्तोष साहुखलको लाइसेन्स भेटिएको हो । 

 

मृत्यु भइसकेका ब्यक्ति र म्याद गुर्जेका सवारीचालक अनुमति पत्रका नम्बर प्रयोगगरि नक्कली स्मार्ट लाइसेन्स बनाउने गिरोहले सन्तोष साहुखलको लाइसेन्स किन राखे भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

 

महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले पक्राउ परेका ब्यक्तिका साथबाट बरामद भएका सवारीचालक अनुमति पत्र र अन्य कागजपत्रका बिषयमा अनुसन्धान जारी रहेको बताए । 


सन्तोष साहुखलको तस्वीर सहितको अनुमतिपत्रको नम्बर ०६–२८७३७५ रहेको छ । २०६७ साउन ७ मा जारी भएको लाइसेन्सको म्याद २०७२ साउन ६ सम्म कायम रहेको छ । 


भक्तपुर सानोठिमी स्थायी ठेगानाका आधारमा जारी भएको लाइसेन्समा बुवाको नाम बालकृष्ण साहुखल उल्लेख छ ।  बेलाबेला राष्ट्रिय लिग खेल्न नेपाल आउने उनी लामो समय जापानमै  बस्दै आएका छन् । 

 

प्रहरीले यातायात ब्यवस्था कार्यालयका कर्मचारीसँगको मिलमतोमा मृत्यु भएका ब्यक्ति र समयमा नविकरण नगरी खारेज भएका नम्बरमा नाम, ठेगाना परिवर्तन गरि नक्कली स्मार्ट लाइसेन्स बनाउने गिरोहका नाइके आशिष गिरिलाई पक्राउ गरेको हो । 


प्रहरीले भक्तपुरबाट पक्राउ गरेका सिन्धुपाल्चोकका गिरि केही वर्षअघिसम्म बसमा सहचालक थिए । त्यसपछि यातायात ब्यवस्था कार्यालय बाहिर सहयोगी हुँदै बिचौलिया बनेका उनलाई मंगलबार आइ टवान्टी कार सहित पक्राउ गरेको हो । 


 
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोशाकको प्रहरीले ३८ थान विभिन्न ब्यक्तिका नाममा जारी नक्कली स्मार्ट लाइसेन्स, बनाउने तयारीमा रहेका लाइसेन्स नम्बरहरु, गिरी र श्रीमतीका नाममा जारी बैंकका चेक र आइ टवान्टी कार सहित गिरीलाई पक्राउ गरेको हो । 


प्रहरीले मंगलबार भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ बाट सिन्धुपाल्चोकका गिरीलाई पक्राउ गरेको हो । 

 

महाशाखाको पीडित सहायता इकाईबाट खटिएको टोलीले  गिरीलाई उनले चढने गरेको बा १५ च ४६८४ नम्बरको हुण्डाइको आइ टवान्टी कार, ३८ थान नक्कली सवारी चालक अनुमति पत्र र विभिन्न बैंकका चेक सहित पक्राउ गरेको हो । 

 

पक्राउ परेका गिरी र उनका साथबाट बरामद लाइसेन्स तथा कागजपत्र । 

 

कारबाहीमा खटिएका एक प्रहरी अधिकृतका अनुसार केही वर्षअघिसम्म बसका सहचालक रहेका गिरिले नक्कली लाइसेन्स बनाएरै काठमाडौंमा घर, गाडी र बैंक ब्यालेन्स जोडेको बताए । 


ती अधिकारीका अनुसार उनले विदेशमा बस्ने नेपालीहरुका लागि एउटा लाइसेन्स ३० हजार देखि एकलाख रुपैयाँसम्म लिने गरेका थिए । 

 

गिरीले मृत्त र खारेज भएका लाइसेन्स नम्बर यातायातका कर्मचारीबाट लिने र उनीहरुकै सहयोगमा नक्कली स्मार्ट लाइसेन्स छाप्दै आएका थिए । 

 

गिरीलाई महानगरीय प्रहरी वृत्त ठिमीमा राखेर थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै