
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरुनै मिटरब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गतको विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेस गर्दै सांसद सुवालले यस्तो आरोप लगाएका हुन् ।
उनले कतिपय पदाधिकारीहरुले स्वकीय सचिव र भान्सेसमेत आफन्त राखेर मिटरब्याजीको रकम गोजीमा राखेको पनि विभिन्न समाचार माध्याममा आइरहेको भन्दै आपत्ति जनाए । सांसद सुवालले मिटरब्याज नियन्त्रण गर्ने सरकारको बजेट वक्तव्यमा उल्लेख भए पनि कानुन हातमा लिन सक्नेहरु नै यसको नियन्त्रणमा बाधक देखिएको दाबी गरे ।
‘बजेट वक्तव्यमा मिटर व्याज नियन्त्रण गर्ने उल्लेख छ । तर गृह प्रशासनका हाकिमहरुका श्रीमती, आफन्त र सल्लाहकारहरु मिटर ब्याजमा संलग्न भएको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको कतिपय पदाधिकारीहरुले आफन्तहरुलाई नै स्वकीय सचिव र भान्से राखेर रकम गोजीमा राखेको समाचार पनि छ । यस्ता गलत काम त कानुन हात लिन सक्नेहरुले गरेको देखियो नि,’ उनले भने ।
सांसद सुवालले मुलुकलाई ऋणमा डुबाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको पनि जनाए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit