Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

मैले महानगरमा  जित्ने पक्कापक्की छः सिर्जना सिंह 

नेपाली कांग्रेसको तर्फबाट काठमाडौं माहानगरपालिकाको प्रमुखको उम्मेदवारी दिएकी सिर्जना सिंहले महानगरको स्थानीय निर्वाचनमा आफूले जित्ने पक्कापक्की भएको दाबी गरेकी छिन्।

 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले घरदैलो कार्यक्रममा पाएको आश्वासनले आधा चुनावी लडाइँ जितेको आभाष भएको सिंहको भनाइ छ । उनले नेपाली काँग्रेस आफैँमा पुरानो पार्टी भएकोले पुरानो पार्टीले महिलालाई विश्वास गरेर प्रमुख पदमा उठाउनु नै सम्पूर्ण नेपालीहरुको जित भएको बताइन् । 

 


उनले भनिन्, ‘हामीले सोचेको जस्तो काठमाडौं बन्ने भयो भनेर सबैजना उत्साहित हुनुहुन्छ । म अहिले हिँड्दा सबैले साथ दिनुभएको छ, सबै खुशी हुनुहुन्छ ।’ 

 


घरदैलो कार्यक्रममा जाँदा महानगरवासीको ठूलो अपेक्षा नरहेको बताइन् । महानगरवासीले धुवाँ/धुलो, ढल, पानी, फोहोर, बत्ती र स्वास्थ्य सेवा, ट्राफिक व्यवस्थापन लगायतका साधारण माग गरेको उनको भनाइ छ ।

 

आफू मेयरमा विजयी भए बेरोजगारलाई रोजगार, ज्येष्ठ नागरिकलाई स्वास्थ्योपचादेखि रमाइलो गर्ने ठाउँ र खुल्ला ठाउँ बनाउने सपनालाई साकार पार्ने सिंहले बताइन् । उनले राजनीतिमा पनि आफूले योगदान दिएकाले परिवारवादको कारण अवसर पाएको भनी आफूमाथि झुटो आरोप लागेको बताइन् ।

 


काठमाडौं महानगर प्रमुखको पदमा नेकपा एमालेका केशव स्थापितले उनलाई चुनौती दिन सक्ने धेरैको आकलन छ । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले पनि उल्लेख्य मत ल्याउन सक्ने अनुमान छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै