Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

संसदबाट विनियोजन विधेयक पारित, बजेट खर्च गर्न पाइने

सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ संसदबाट बहुमतले पारित भएको छ । यससँगै सरकारको खर्च गर्ने बाटो पनि खुलेको छ ।

 

सोमबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चर्को विरोधका बीच बहुमतले पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको घोषणा गरे ।

 

त्यसैगरी बैठकले अर्थमन्त्री शर्माले प्रस्तुत गरेको आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ लाई स्वीकृत पनि गरेको छ । प्रतिपक्षी दल एमालेले भने संसदको अवरोध कायम नै राखेको छ । 

 

सभामुख सापकोटाले एमालेप्रति भेदभावपूर्ण व्यवहार गरेको भन्दै एमालेले निरन्तर संसदमा विरोध गर्दै आएको छ । सोमवारको बैठकमा पनि एमाले सांसदहरुले वेल घेर्दै संसदीय सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, यथास्थितिमा संसद चल्न सक्दैन लगायतको नाराबाजी गरेका थिए ।

 

प्रतिनिधि सभाको अर्को बैठक असोज ७ गते बिहीवार दिउँसो २ बजे बोलाइएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै