Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

प्रचण्डले एमसीसीबारे कार्यकर्ता र जनतालाई फरक कुरा गरेर फट्याईँ गरिराखेका छन् : ईश्वर पोखरेल 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् ।

 

 

वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पु-याउने काममा अध्यक्ष दाहाल लागि परेको बताएका छन् । शनिबार काठमाडौं महानगरपालिका ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उनले अध्यक्ष दाहालले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याई गरिरहेको आरोप समेत लगाएका छन् । 

 

 

वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक पार्टीका नेताहरुले देश र जनताको हित विपरित हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति बढ्नेतर्फ पनि सचेत गराएका छन् । उनले जनताको बीचमा फट्याई कुरा गर्ने नेताहरुलाई चिनेर सचेत गराउन पनि सबैलाई आग्रह गरेका छन् । 

 

 

‘राजनीतिक ढंगले अनेक खालका दूभाग्यपूर्ण विवादहरु देखिरहेका छौं हामीहरु । म एउटा राजनीतिक पार्टीको जिम्मेवार कार्यकर्ता पनि हुँ । राजनीतिक पार्टीका मान्छेहरुमा विकृति आयो भने समाजमा पनि विकृति बढछ । राजनीतिक पार्टीका नेता यता हे¥यो यतैका कुरा, उता हे¥यो उताका कुरा, ऊ पर हे¥यो, परका कुरा गर्ने खालका भएभने त्यो फट्याईबाट समाज आक्रान्त हुन पुग्छ । यो कुरालाई पनि चिन्नुपर्ने जरुरी हुन्छ । राजनीतिक पार्टीका मान्छेहरुले जे जनताको हितमा, देशको हितमा हुन्छ । त्यो सही कुरा बोल्ने सामथ्र्य राख्नुपर्दछ । नत्र भने यता गयो यताका कुरा, उता गयो उताका कुरा गर्ने चरित्र देखायो भने त्यसले नोक्सानी हुन्छ’ उनले भने ।

 

 

‘जो अहिले हामी देख्दैछौं, भोग्दैछौं । विदेशीसित गयो एउटा कुरा, कार्यकर्तासँग भेट भयो एउटा कुरा । जनतासँग गयो अर्कै कुरा । यस्ता खालका झिल्केमिल्के कुरा गरेर जनतालाई अलमल्याउने खालका कतिपय गतिविधि भएका छन । जो दूर्भाग्यपूर्ण कुरा हो । यस्तो हुनु हुँदैन । त्यसकारणले हामी राजनीतिक पार्टीका मान्छेहरु पनि जनताको निगरानीमा बसिराख्यौ भने हामीबाट भूलचुक हुन कमी हुन्छ । भूलचुक हुँदैन । भईहाल्यो भने थोरै होला, सच्याउन सकिन्छ । तर जनताको निगरानीमा बसिएन भने अनि कमजोरीहरु हुन्छन’ उनले भने ।

 

 

उनले सार्वजनिक सम्पत्तिहरु अतिक्रमण हुन नदिन र त्यसको सदूपयोग हुने गरी अघि बढाउनका लागि स्थानीय तहहरुले जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याएका छन् । त्यस अवसरमा उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको हितमा केन्द्रित भएर काम गर्न पनि निर्देशन दिएका छन् । 

 

 

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्क, बगैंचालगायतका सार्वजनिक क्षेत्रहरुको सफाईमा ध्यान दिने र त्यसको सदुपयोग गरेर अघि बढ्ने काममा लाग्न स्थानीयबासीलाई आग्रह गरेका छन् । उनले काठमाडौं महानगरपालिकालाई सुन्दर र हराभरा बनाउन आफूहरुले पार्क निर्माण कार्यलाई तीव्रता दिएपनि त्यसको सदुपयोग हुन नसकेको गुनासो गरेका छन् ।

 

 

उनले आफूले जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको दाबी समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै