Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

भाइरल रुघाखोकी बढ्न सक्ने भन्दै चिकित्सकद्वारा सचेत रहन आग्रह

जाडोको सिजन सुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै चिकित्सकहरुरुले सचेत रहन आम नागरिकहरुलाई आग्रह गरेका छन् ।

 

मंगलवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कन्सलट्यान्ट फिजिशियन डा. आलोक ढुंगेलले चिसो मौसम बढेकोले बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरे ।

 

उनले अहिलेको मौसम कोरोनासँगै फ्लूको संक्रमण बढी हुने भएकोले यसले श्वासप्रश्वासमा समस्या आउने बताए । उनले चिसोबाट जोगिने, तातो र न्यानो कपडा लगाउने, बाहिर नहिँड्ने, धुवाँ र धुलोबाट बच्ने, मर्निङ वाकमा ननिस्कन सुझाव पनि दिए । त्यस्तै उनले यस्ता फ्लूहरुबाट बच्न रुघाखोकी लागेका मानिसहरुबाट टाढै रहन, मास्कको प्रयोग गर्न, जथाभाबी नाक, कान र मुख नचलाउन पनि आग्रह गरे । उनले यस्ता भाइरसबाट बच्नको लागि झोलिलो खानेकुरा खान र भ्याक्सिन अनिवार्य लगाउनु पर्ने पनि बताए ।

 


‘चिसो मौसम बढेकोले गर्दा साना बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीरुले एकदमै सतर्कता अपनाउन पर्ने हुन्छ, किनभन्दा अहिले फ्लूको सिजन बढेसँगै कोभिड पनि छ । यसले बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुलाई अलिकति अफ्ठ्यारो बनाउनुका साथै श्वासप्रश्वासमा समस्या उत्पन्न हुने भएका कारण चिसोबाट जोगिएर तातो, न्यानो कपडा लगाउने, बाहिर नहिँड्ने, धुवाँ, धुलो पनि बिहानको समयमा हुने गरेकोले बिहान मर्निङ वाकमा निस्किन त्यति उपयुक्त नहुने खालको देखिन्छ’ उनले भने ।

 


अर्को कुरा सुत्केरी महिलाले तातो झोल कुराहरु खानुपर्ने हुन्छ । रुघाखोकी लागेको कोही पनि त्यस्तो मान्छे छ भने उहाँको सम्पर्कबाट विशेष गरी टाढा बस्ने गर्नुपर्दछ । जसरी हामीले कोभिडमा गरिरहेका थियौँ, अहिले यो इन्फ्लूएन्जाको फ्लूको लागि गर्ने पनि त्यही नै हो । योसँगै अरु पनि भाइरसहरु डिनो, राइनो भाइरसहरु जसले बच्चाहरुमा धेरै रुघाखोकी गराउँछ । तिनीहरु पनि अहिले सक्रिय हुने बेला हो । त्यसैले सबैले भाइरसबाट बच्नलाई जरुरी छ । जोगिने अर्को उत्तम उपाय भनेको हामीले भ्याक्सिन पनि लगाउनु पर्ने हुन्छ । नोभेम्बरमा २०२२ को लागि नयाँ इन्फ्लूएन्जाको भ्याक्सिन आउँदैछ’ उनले भने ।

 


उनले  कोभिड–१९ का बेला गरिरहेका आचरणहरुलाई प्रयोगमा ल्याइराख्नाले पनि मौसमी भाइरल रुघाखोकीबाट बच्न सकिने र कोभिडबिरुद्धको भ्याक्सिनको दुई डोज लगाउनेहरुले इन्फ्लूएन्जाको भ्याक्सिन डाक्टरको सल्लाह बमोजिम लगाउन मिल्ने पनि बताए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै