Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

रक्षामन्त्रीको रणनीति : सेनाको शान्ति मिसनदेखि सुरक्षा नीति

रक्षामन्त्री डा. मीनेन्द्र प्रसाद रिजालले नेपाली सेनाको गौरव बढाउन सरकार कहिले पनि पछि नपर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सेनाको कामबाट विश्वसमुदाय सन्तुष्ट रहेको उल्लेख गरे ।

 

मन्त्री डा. रिजालले नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च रहेको बताउँदै राष्ट्रिय विपत्तिमा नेपाली सेनाले अग्रभागमा रहेर उच्चकोटीको काम गरेको बताए । 

 

उनले राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय भएको समेत बताए । ‘राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा मैले पनि काम गरिसकेको हुँदा राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहन्छ’ उनले भने ।

 

शुक्रबार मन्त्रालयको जिम्मेवारी लिँदै रक्षामन्त्री रिजालले मुलुकका लागि सबल सुरक्षा नीति आवश्यक भएको बताएका थिए । राष्ट्रिय सुरक्षा कुनै एक दलको मात्रै नभइ सबैको साझा विषय भएकाले त्यसलाई सबै मिलेर एकताबद्ध रुपमा अघि बढाउनुपर्नेमा उनको जोड थियो । 

 

‘अहिले परराष्ट्रसम्बन्धको विषयमा जुन कुरा उठिरहेको छ त्यसले पनि सबल सुरक्षा नीति आवश्यक रहेको देखिएको छ, त्यसमा मेरो ध्यान जान्छ,’ उनले भनेका थिए ।    

 

राष्ट्रपति विद्यादेवी भण्डारी रक्षामन्त्री हुँदा नै मन्त्रीस्तरीय समितिले राष्ट्रिय सुरक्षा नीति अघि बढाएको सन्दर्भ जोड्दै मन्त्री डा रिजालले त्यसलाई पछि आएर विभिन्न चरणमा अघि बढाउने काम भइरहेको उल्लेख गरे । 

 

मन्त्री रिजालले नेपालको सुरक्षा संवेदनशिलता र मित्रराष्ट्रसँगको सम्बन्ध पहिलेभन्दा बढी अवसरको रुपमा विकास भइरहेको र त्यससँगै चुनौती पनि बढ्दै गएको सन्दर्भमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने विश्वास दिलाए । 

 

उनले नेपालबाट शान्ति मिसनमा ठूलो संख्यामा सेना जाने गरिएको र त्यहाँ नेपालको भूमिकालाई अझ विस्तारित गर्ने विषयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए । 

 

रिजाल यसअघि संस्कृति र सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका थिए । सुनसरीमा जन्मिएका उनी मोरङ क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उनी नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष हुँदै राजनीतिमा आएका थिए । 

 

उनले संविधान मस्यौदा समितिको सदस्य बनेर जिम्मेवारी निर्वाह गरे । हाल उनी संसद्को सार्वजनिक लेखा समितिका सदस्य पनि छन् । उनले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधि गरेका हुन् । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै