Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

संसदीय सुनुवाइ समितिको कुनै औचित्य छैन : देव गुरुङ

सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाइ समितिको कुनै औचित्य नरहेको बताएका छन् ।

 

 

शुक्रबार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक गुरुङले हालसम्मको अनुभवलाई स्मरण गराउँदै सो समितिको औचित्य र अर्थ नरहेको बताएका हुन् । उनले संविधानले परिकल्पना गरे अनुसार काम गर्न नसकेको उल्लेख गर्दै सो समितिलाई प्रभावकारी बनाउने हो भने संघीय संसद ऐनलाई संशोधन गरेर अघि बढनुको विकल्प नरहेको तर्क गरेका छन् । 

 

 

उनले मन्त्रिपरिषद, कानुन परिषद वा संवैधानिक परिषदले सिफारिस गरेका प्रस्तावलाई स्वीकार गरेर जाने अवस्था हाल रहेको उल्लेख गर्दै यसबाट समितिको काममा प्रभावकारिता नआउने पनि स्पष्ट पारेका छन् । बैठकमा संसदीय सुनुवाईका सम्बन्धमा नेपाल कानुन आयोगले तयार पार्न लागेको विधयेकबारे छलफल गरिएको थियो । 

 

 

‘अहिलेसम्मको हाम्रो अनुभव के हो त भन्दाखेरी यो सुनुवाई समिति रहनु र नरहनुको कुनै औचित्य छैन । यही नियमावलीको सीमा भित्र रहने हो भने यो सुनुवाई समितिको कुनै अर्थ र औचित्य छैन । त्यसकारणले गर्दाखेरी संविधानले जो परिकल्पना गरेको छ । त्यो परिकल्पना कार्यान्वयन हुने देखिदैन । किनत भन्दाखेरी अहिलेसम्मको अभ्यासको आधारमा सरकारले जे सिफारिस गरेको छ । त्यसलाई अंगीकार गर्नु, त्यसलाई अनुमोदन गर्नुको विकल्प देखिराखेको छैन । त्यही रुपमा गईराखेको छ, अहिलेसम्म’ उनले भने ।

 

 

‘यो समितिको कुनै प्रभावकारिता भएको छैन । एउटा प्रधानन्यायाधीशको केसमा बाहेक जस्ताको तस्तै अनुमोदन भएको अवस्था छ । कुनै पनि ईस्यूमा रिजेक्ट हुन सकेको छैन । जे–जे प्रस्ताव गरेका छन । त्यसैलाई एक्सेप्ट गरेको गएको देखिन्छ । त्यो खालको स्थिति छ । यहीस्थिति रहँदाखेरी यो समितिको औचित्य देखिराख्या छैन । यसलाई प्रभावकारी बनाउने हो भने संघीय संसद ऐननै संशोधन गर्नुपर्ने हुन्छ’ उनले भने ।

 

 

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देवले संवैधानिक परिषद, न्यायपरिषद वा मन्त्रपरिषदले सुनुवाईका लागि पठाएको व्यक्तिबारे चित्त नबुझे संसदीय सुनुवाइ समितिले फिर्ता गर्न पाउने कानुनी व्यवस्था हुनुपर्ने माग गरेका छन् । उनले संसदीय सुनवाइका लागि न्यायपरिषद र मन्त्रीपरिषदले पठाएको सिफारिसलाई सामान्य बहुमतले अस्वीकृत गर्ने कानुनी व्यवस्था गर्न उपयुक्त हुने तर्क पनि गरेका छन् । प्रधानमन्त्री संसदले बहुमतले चयन गर्ने तर संसदीय सुनुवाइ भने दुई तिहाईले अस्वीकृत हुनुपर्ने कुरा हामीले अभ्यास गरेको लोकतन्त्र अनुकूल नभएको उनको भनाइ थियो । 

 

 

बैठकमा नेपाल कानुन आयोगकी सचिव लीलादेवी गडतौला (निरौला)ले संसदीय सुनुवाइका लागि सिफारिस गरेका व्यक्तिहरुबारे सम्बन्धित निकायमा सोधपुछ गरेर संसदीय सुनुवाइ गर्ने व्यवस्था पनि प्रस्तावित विधेयकमा समावेश गरिएको जानकारी दिएकी छन् । उनले सो विधेयकबारे संसदीय सुनुवाइ समितिमा घनीभूत छलफल गरेर अघि बढ्ने पनि बताएकी छन् ।

 

 

उनले दलहरुले आफ्ना सांसदहरुलाई ह्वीप लगाउने/नलगाउने भन्ने व्यवस्थाका बारेमा पनि अन्तराष्ट्रिय अनुभव अध्ययन भइरहेको बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै