
सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दाबी गरेका छन् । उनले कांग्रेसले कहिले पनि सत्ता दुरुपयोग नगर्ने पनि जनाए ।
प्रवक्ता महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकास कुनै पनि अर्थमा ओली असफल भएको भन्दै उनलाई जनतामा गएर मत माग्नै कुनै आधार नरहेको बताए ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले ओलीले नचाहे पनि लोकतन्त्रलाई बलियो बनाउन, संविधानलाई बलियो बनाउन सत्तारुढ गठबन्धन सँगसँगै अघि जाने विश्वास समेत व्यक्त गरे । सत्तारुढ दलमा आवद्ध अन्य दलहरुले पनि ओलीलाई साथ दिने कुनै सम्भावना नरहेको उनले जनाए ।
‘केपी ओली सबै कोणबाट असफल भइसकेका छन् । अब के मुखले उहाँले भोेट माग्ने ? पाँच वर्षका लागि निर्वाचित सरकार साढे ३ वर्षमै दुई पटक हात उठायो । उहाँले बर्बाद गरेपछि सरकारले नेतृत्व कांग्रेसले लिनुप¥यो,’ महतले भने ।
‘हामी सत्ताको दुरुपयोग कहिल्यै गर्दैनौं । उहाँहरुको जस्तो आफ्नो हातमा परेपछि पुलिस प्रशासन त्यही बाटोमा हुनुहुन्थ्यो उहाँहरु । पार्टी अनुकूल होइन, उहाँको अनुकूल बनाउँदै हुनुहुन्थ्यो । सबैले विना डर मताधिकार प्रयोग गर्न पाउँछन् । तर उल्टो हामीमाथि ठाउँठाउँमा आक्रमण भइरहेको छ,’ उनले भने ।
रुकुम पश्चिम, महोत्तरी, नुवाकोट, सिन्धुपाल्चोकसहितका जिल्लाहरुमा आफ्ना पार्टीका कार्यकर्ताहरुमाथि आक्रमण गरेको भन्दै उनले आपत्ति जनाए । महतले ओलीलाई निर्वाचन आचारसंहिताको पालना गर्न सचेत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।
प्रवक्ता महतले कांग्रेस सभापतिको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचनमा प्रचार गएकाले उनले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्न नमिल्ने पनि बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit