Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

कानुन व्यवसायीको चेतावनी : प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बार ब्याक हुँदैन

कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । 

 

नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतको प्राङ्गणमा सोमबार पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताएको छ । बारका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरुले आन्दोलन जारी राख्ने बताए । 

 

‘हाम्रो अहिलेको माग भनेको प्रधानन्यायाधीशको राजीनामा हो । कुनै पनि हालतमा नेपाल बार एशोसिएशन यो मागबाट बाहिरिने वाला छैन । नेपाल बार ब्याक हुनेवाला छैन । र देशभरका कानुन व्यवसायीहरु आन्दोलित हुनुपर्ने अवस्था आयो भने त्यो परिस्थितिको सामना गर्न प्रधानन्यायाधीश तयार हुनुपर्नेछ,’ उनले भने ।

 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायालय समाप्त हुन लागेकाले प्रधानन्यायधीश जबराको राजीनामा माग्न बाध्य हुनु परेको स्पष्ट पारे । उनले न्यायपालिकालाई संकटबाट बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको बताए । 

 

‘आज न्यायपालिका प्रधानन्यायाधीशका कारण संकटमा परेको छ । उहाँले संकट निम्त्याउनु भयो । न्यायपालिका समाप्त हुने विन्दुमा पुगेको छ । आज प्रधानन्यायाधीशजीले के भन्नु हुन्छ भने–मलाई संवैधानिक प्रक्रियाबाट हटाऊ । तर म प्रधानन्यायाधीशजीलाई प्रश्न गर्न चाहन्छु–उहाँले संविधानले तोकेको आफ्नो न्यूनतम केही भूमिका निर्वाह गर्नु भएको छ ? के आज उहाँले आफ्नो न्यायपालिकालाई नेतृत्व प्रदान गर्न सक्नु भएको छ ? आज उहाँको नेतृत्व सम्पूर्ण रुपमा असफल भएको छ । आज उहाँकै कारणले इजलास बस्न सकेको छैन । न्यायिक प्रक्रिया नै अवरुद्ध भएको छ । त्यसको सबैभन्दा ठूलो कारण उहाँ आफै हुनुहुन्छ । आज न्यायपालिकामा सबैभन्दा ठूलो खतरा प्रधानन्यायाधीशको आचरणको कारण भएको छ । यो नेपालको न्यायिक इतिहासमै दूर्भाग्यपूर्ण कुरा हो ।’

 

बारका पूर्व केन्द्रीय सदस्य रमनकुमार कर्णले न्यायालयलाई बचाउन पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिन ढिलाइ गर्न नहुने बताए । उनले प्रधानन्यायाधीश जबरा रहुन्जेल न्यायालय चल्नै नसक्ने दाबी समेत गरे । 

 


‘हामी प्रधानन्यायाधीशको राजीनामा माग गरेर निरन्तर आन्दोलनमा होमिने छौं । प्रधानन्यायाधीशको राजीनामा वकीलले माग गर्नु निश्चयनै दुःखद् कुरा हो । तर बारले माग गरिसकेपछि प्रधानन्यायाधीशले राजीनामा नदिनु त्यो भन्दा पनि दुःखद् कुरा हो । प्रधानन्यायाधीशले यो बुझ्नु पर्छ कि बारले किन राजीनामा माग गर्न बाध्य भयो, विवश भयो ? यो न्यायिक संस्थाका लागि तपाईँको राजीनामा माग गरिएको हो । तपाईँ रहुन्जेल अब यो संस्था चल्न सक्दैन । किनभने हिजो केही व्यक्तिहरु विवादित थिए । आज यो संस्थामाथि प्रश्न उठिसकेको छ । यो संस्थाको बचाऊको लागि तपाईले राजीनामा दिनुप¥यो,’ उनले भने ।

 

बारले मंगलबार पनि सर्वोच्चमा धर्ना दिने जनाएको छ भने त्यसमा सहभागी हुन कानुन व्यवसायीहरुलाई आह्वान गरेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै