
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले ६ महिनाका लागि मन्त्री बनाउने गरी आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने नेताहरुको नाम चयन गरेको छ ।
स्रोतका अनुसार पहिलो चरण र दोस्रो चरणमा गरी उक्त पार्टीका नेताहरु मन्त्री बन्नेछन् । पहिलो चरणमा रामकुमार झाँक्री, विरोध खतिवडा, किसन श्रेष्ठ र प्रेम आले मन्त्री भएका छन् ।
उनीहरुको कार्यकाल ६ महिने हुने र त्यसपछि अरु नेताले उनीहरुलाई प्रतिस्थापन गर्ने स्रोतको बताएको छ । त्यसपछि भवानी खापुङ, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवर मन्त्री बन्ने सहमति भएको छ ।
तर, नेकपा एसले आफूले पाउने राज्यमन्त्रीको कोटामा भने कसैलाई चयन गरिसकेको छैन । एमालेसँगको विभाजनदेखि नेकपा एस स्थापनासम्म नेपाललाई दह्रो साथ दिएका नेता मेटमणि पहिलो चरणमा नपरेपछि उनले मन्त्री बन्न सबै प्रकारका कम्बिनेसनहरु मिल्नुपर्ने बताएका छन् ।
‘को मन्त्री बन्नु भयो ? को मन्त्री हुनु भएन ! मुख्य विषय होइन । मुख्य विषय प्रणाली जोगिएको छ । संवैधानिक सर्वोच्च कायम भएको छ र कानुनी राज्यको स्थापना भएको छ । जहाँसम्म मन्त्री बन्ने सम्भावनाको कुरो – प्रतिनिधि सभाको सदस्यले त्यो चासो राख्छ र राख्नु पनि पर्दछ तर दीर्घकालीन चेत राखेर राजनीतिको खुल्ला चौरमा प्रवेश गरेको राजनैतिक खेलाडीको लागि मन्त्री पद गौर विषय बन्न जान्छ,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘फेरि मन्त्री हुने कुरो – सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ । कहिलेकाहीँ त्यो कम्बिनेसन नमिल्न नि सक्छ । आजको परिस्थिति यही नै हो ।’
उनले अहिले नेकपा एस कठिन मोडमा रहेकाले धैर्यधारण गर्न जरुरी रहेको जनाएको छ । ‘हामी कठिन मोडमा छौ । यो घडिमा सबैमा धैर्यधारणको जरुरी छ । यसैले निर्णय गर्नुहुने नेतृत्वलाई अनावश्यक दवाब दिनु जरुरी छैन । पार्टीलाई अझ सशक्त र समृद्ध बनाउनु जरुरी छ,’ उल्लेख गरेका छन् ।
‘पार्टी साइजमा नआउँदै कुनै पनि प्रकारका गुनासा र मोलमोलाइको लागि स्पेश दिनु जरुरी देख्दैन । नेपालको लोकतन्त्रलाई सस्थागत गर्ने कुरामा योग्दानको लागि पहल गरौं । यो बीचमा मप्रति धेरै साथीहरूले सहानुभूति राख्नु भएको महसुस मैले गरेको छु । सबै महानुभाहरूप्रति हार्दिक नमन गर्न चाहन्छु र आगमि दिनमा पनि उच्च प्रकारको समन्वयको अपेक्षा पनि लिएको छु । अन्तमा– मन्त्रीको सिफारिसमा पर्नु भएका सबै माननीय ज्युहरूको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।
यस्तै, जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो तर्फबाट मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रमोद साह, रामसहाय यादव मन्त्री बन्ने भएका छन् । जसपाले पनि राज्यमन्त्रीका लागि नाम टुंगो लगाएको छैन ।
माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल यसअघि नै मन्त्री भइसकेका छन् । बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्रीमा पठाउने निर्णय नै गरिसकेको छ । तर, कांग्रेसले भने हालसम्म मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छैन ।
सरकार गठनको करिब ३ महिना पुग्नै लाग्दा प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदको अन्तिम तयारीमा छन् । सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादीले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय पाउनेछन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit