Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

भ्रष्टाचारमुक्त न्यायपालिका बनाउँछौं– बारका नवनिर्वाचित अध्यक्ष घिमिरे

नेपाल बार एशोसिएशनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको अबको नेतृत्वले विकृति, विसंगति बिरुद्ध लडने र भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन अभियान चलाउने बताएका छन् । 

 

बारको नेतृत्वको लागि भएको निर्वाचनमा नेपाली कांग्रेस निकट घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् । शुक्रबारको मत परिणामअनुसार घिमिरेका साथै बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको प्यानल नै विजयी भएको छ । 

 

गठबन्धनको प्यानलले एमाले निकट निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीसहितको प्यानललाई पराजित गरेको हो । घिमिरे ४ हजार ४३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी अधिकारीले २ हजार ४८२ मत ल्याएका थिए ।

 

जितसँगै स्वागत समारोहमा बोल्दै नवनिर्वाचित अध्यक्ष घिमिरेले कानुन व्यवसायलाई मर्यादित र व्यवस्थित पेशा बनाउने प्रतिवद्धता व्यक्त गरे ।

 

अध्यक्ष घिमिरेले भने, ‘विकृति, विसंगतिविहीन, भ्रष्टाचारमुक्त न्यायपालिका हाम्रो प्रमुख उद्देश्य हो । साथै एउटा मर्यादित, व्यवस्थित पेशा बनाउने पनि हाम्रो अर्को प्रमुख उद्देश्य हो । साथै कानुन व्यवसायीहरुलाई कानून व्यवसायमा भविष्य छ भन्ने कुरा नवोदित कार्यसमितिले आश देखाउने हाम्रो अर्को उद्देश्य छ । त्यसैले हामी यसमा लागि पर्नेछौँ ।’

 

नवनिर्वाचित अध्यक्ष घिमिरेले कानुन व्यवसायमा भविष्य छ भन्ने कुरा नवोदित कार्यसमितिले भरोसा दिलाउने उल्लेख गरे ।

 

को को विजयी भए? 

 


उपाध्यक्षमा  सुरज खत्री, सुधिर कर्ण, हर्क रावल, बिरेन्द्र केसी, पशुपति भण्डारी, उत्तम आचार्य, तुलाराम गिरी र आशा राई विजयी भएका छन् । कोषाध्यक्षमा भरत रावत विजयी निर्वाचित भएका छन् ।

 


महासचिवमा गठबन्धन समर्थित  उम्मेदावर अञ्जिता खनाल विजयी भइन् । 

 

सदस्यहरुमा बिनिता नेपाली, किरण शाह, नरेश साह, नारायण राई,  रुप सारु, सीता पौडेल, मनिका खड्का र सर्मिला थापा निर्वाचित भएका छन् । त्यस्तै अन्य सदस्यमा भरत लकाइ, देवी कोईराला, निर्भय पौडेल, सन्तोष राउत, गुणराज आचार्य र  सन्तोष तिवारीले चुनाव जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै