Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

न्यायालयमा विचौलियाको जड प्रधान्यायाधीश हुन्  : बार अध्यक्ष श्रेष्ठ

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरुलाई समेत आग्रह गरेको छ । 

 

नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरुलाई समेत अनुरोध गरेका छन् । मंगलबार सर्वोच्च अदालतको प्राङ्गणमा एक घण्टे धर्ना कार्यक्रमपछि आयोजित कोणसभामा बोल्दै उनले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनलाई सशक्त बनाउन यही २५ गते बिहीबारदेखि काठमाडौं उपत्यकाभित्रको सबै अदालतहरुमा २ घण्टा इजलास नबस्ने घोषणा गरेका हुन् ।

 

उनले बिहान १० बजेदेखि १२ बजेसम्म काठमाडौं उपत्यका भित्रको उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, न्यायाधिकरणमा इजलास नबस्ने निर्णय गरिएको जानकारी दिए । उनले बारले आह्वान गरे अनुसार सो इजलासमा नबस्न न्यायाधीशहरु, अदालतका कर्मचारीहरुलाई पनि आग्रह गरे । उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी समेत दिए । 

 

‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूखुसी पेशी तोक्ने काम गरेको छ । न न्यायाधीशको विश्वास जित्न सकेको छ । न बारको विश्वास लिन सकेको छ । उनले आफ्नो प्रोटेक्सनको लागि मिडियामा गएर मेरो फैसला ठिक छ । मैले संवैधानिक परिषदमा लाप्चे लगाउने गएको होईन । मैले भाग लिनकै लागि भएको हो भन्ने कुरा जो गर्नु भएको छ । त्यसले न्यायपालिकालाई ठिक ठाउँमा राखेको छैन । न्यायपालिकालाई ठिक ठाउँमा राख्नका लागि तपाई मिडियाका साथीहरुले पनि त्यहीँ ढंगबाट नै अहिलेको आवाज, जुन जनआवाज हो, कानुन व्यवसायीहरुको मात्रै आवाज होईन’ उनले भने । 

 

‘सेवाग्राहीहरुलाई पनि म विनम्र अनुरोध गर्न चाहन्छु–वर्षौदेखि तपाईहरु विचौलियाबाट ध्वस्त हुुनुहुन्छ । यो विचौलियालाई तोडनका लागि विचौलियाका जड, विचौलियाका नाइके चोलेन्द्र शमशेर जबरालाई हटाउनका लागि तपाई सेवाग्राहीहरुको पनि हामीलाई साथ चाहिएको छ । आजसम्म हामीले एक घण्टाको धर्ना कार्यक्रम गरेका छौं । यतिमात्रै नभईकन अब हामी हिजोको निर्णय अनुसार पर्सिदेखि हामी उपत्यका भित्रको सम्पूर्ण अदालतहरुमा न्यायाधिकरणहरु सम्पूर्ण रुपमा १० बजेदेखि १२ बजेसम्म २ घण्टा हामीले इजलास नबस्ने निर्णय गरेका छौं’ उनले भने ।

 

‘सो समयसम्म बेञ्चमा नबसी दिनका लागि म न्यायाधीशज्यूहरु, अदालतका कर्मचारीहरुलाई अपिल गर्दछु । सेवाग्राहीहरुलाई पनि सो समयमा आफ्नो मुद्धा रोकिदिनका लागि नेपाल बार एशोसिएशनले अनुरोध गरेको छ । उपत्यका बाहिरका कानुन व्यवसायीहरुले पनि सम्बन्धित जिल्लाका अदालतहरुमा कालोपट्टी बाधेर विरोध प्रर्दशन गर्नु हुनेछ’ उनले भने ।

 

कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनविरुद्ध पनि आन्दोलन गर्न नेपाल बारलाई सुझाव दिए । 
 

‘पहिलो प्रधानन्यायाधीशको राजीनामा दिनुर्पछ  तर यो प्रधानन्यायाधीलाई राजनीतिक भागबण्डा दिने काम कसले ग¥यो भन्दाखेरी अहिलेको सरकारले र अहिलेको गठबन्धनले । यदि अहिलेको गठबन्धनले प्रधानन्यायाधीशलाई स्पेश दिँदैन थियो भने प्रधानन्यायाधीशले स्पेश माग्न सक्दैन थिए । त्यसैको यसको सबैभन्दा ठूलो दोषी कोही छ भने शेरबहादुर देउवा र सत्तारुढ गठबन्धन हो । त्यसैले बारले र हामी सम्पूर्ण नागरिकले यो गठबन्धनको विरुद्धमा र शेरबहादुर देउवाको विरुद्धमा आवाज उठाउनु पर्दछ’ उनले भने ।


 

प्रतिक्रिया

2
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै