Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

देशको अर्थतन्त्रका विषयमा यस्तो छ पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालको विश्लेषण

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका छन् । पूर्वगभर्नर डा. नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा मार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण देखिएको बताए  । 

 


डा. नेपालले मंगलबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै चालु आर्थिक वर्षको सुरुवात देखि रेमिटेन्स लगातार रुपमा घट्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेकाले अर्थतन्त्र थप चुनौतीपूर्ण स्थितिमा पुगेको बिश्लेषण गरे । उनले नेपाल राष्ट्र बैंकसँग मुलुकमा ६ महिनाको लागि मात्रै बस्तु आयात धान्न सक्ने सञ्चिति रहेको जानकारी समेत दिए ।  

 


अन्तर्राष्ट्रिय मुद्रा कोषले इर्मजिङ अर्थतन्त्रको लागि ६ महिनाको आयात धान्न सक्ने विदेशी सञ्चिति हुने गर्ने बताएको उनको भनाई छ । डा. नेपालले विदेशी मुद्रा सञ्चिति थ्रेस होल्डको मार्जिनमा नै आएकाले कुनै नीतिगत सुधार समेत गर्न सक्ने अवस्था नभएको उल्लेख गरे । सरकारले अर्थतन्त्र सहज बनाउनको लागि तत्काल विदेशी सहयोग अनुदानको लागि पहल गर्नुपर्ने नेपालले सुझाए । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य राखे पनि पूरा नहुने पूर्वगभर्नर नेपालले दाबी छ । उनले अहिलकै अवस्थामा अर्थतन्त्र चल्ने हो भने राजश्व संकलनको लक्ष्य समेत पूरा नहुने दाबी समेत गरे । 

 


उनले भने,‘ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समिक्षाले विदेशबाट बस्तु आयातमा गरिएको कडाइले केही राहत दिन सक्छ । तर कहिलेसम्म भन्ने हो  । अब विदेशबाट लिने ऋण अनुदानको लागि सरकारले तरुन्त पहल गरेर, विदेशी अनुदानको लागि नीति तथा कानूनमा समेत परिमार्जन गरेर जानु आवश्यक छ । अहिलेको अवस्थामा सरकारले राखेको आर्थिक वृद्धिदरको लक्ष्य पुरा हुँदैन । भन्नलाई जे भन्दिए पनि भयो । ७ प्रतिशत आर्थिक वृद्धिदर हुन गाह्रो छ । आयात बढी रहेको अवस्थामा आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुँदैन । अझ राजश्व संकलन समेत घट्ने अवस्था देखिएको छ । धेरै बस्तु आयात गर्न राष्ट्र बैंकले रोकेको र नेपालमा आयात मुखी राजश्व भएकाले त्यो पनि घट्ने छ । सरकारले जुन १०५० अर्बको राजश्व संकलनको लक्ष्य राखेको छ। त्यो पूरा हुन गाह्रो छ ।’

 

 

त्यस्तै पूर्वगभर्नर डा. नेपालले सरकारले राजश्व संकलन गरेर ढुकुटीमा थन्काउने तर खर्च नगर्ने प्रवृत्तिले बैंकहरुमा तरलता अभाव भएकोे उल्लेख गरे । उनले विश्वका कुनै पनि मुलुकमा सरकारले राजश्व उठाएर राष्ट्र बैंकमा थुपारेर राख्ने प्रचलन नभएको बताए । सरकारले यस्तो रकम केही बैंकसँग समन्वय गरेर रकम सञ्चालन गर्न दिएर राष्ट्र बैंकले नियमन गर्दा मात्रै बजारमा तरलता सहज हुने पूर्वगभर्नर नेपालले बताए । बैंकहरुबाट हुने कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लगाम लगाउन नसक्दा बजारमा तरलता अभाव भएको उनको भनाई छ ।

 


त्यस्तै पूर्वगभर्नर नेपालले रुस र युक्रेनबीचको तनावले नेपालमा पेट्रोलियम पदार्थ तथा खाने तेलको मूल्य अझै वृद्धि हुनसक्ने बताए । उनले पेट्रोलियम पदार्थ तथा खाने तेलको सहज आपूर्तिको लागि समयमा नै आपूर्ति गरेर भण्डारण गर्न सरकारलाई  सुझाव दिए  ।  उनले सरकारले दुई देशबीचको तनाव कहिलेसम्म रहने निश्चित नभएकाले खानेतेल लगायत कच्चा पदार्थको आपूर्तिमा समस्या भएर अभाव हुन सक्ने बताए । रुस र युक्रेनबीचको तनावले पट्रोलियम पदार्थ तथा खाने तेल लगायत खाद्यान्नको समेत मुल्य बृद्धि हुने भएकाले सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउनु पर्ने नेपालले बताए  । उनले सरकारले पेट्रोलियम पदार्थको खपत घटाएर विद्युतिय खपतमा जोड दिनु पर्ने बताए ।

 

 

पूर्वगभर्नर नेपालले नेपालमा सामान्य भन्दा सामान्य वस्तु पनि विदेशबाट आयात गरिने त्यसको लागि विदेशी मुद्रा खर्च गर्नु बताए ।  उनले डलर खर्च गर्न डलर आउने स्रोत पनि रेमिटेन्स ५ महिना देखि कम हुँदै गएकाले थप समस्या आउने बताए ।  चालु आर्थिक बर्षको सात महिनामा मात्रै करिब ४२ अर्ब ५२ करोडको ४० लाख भन्दा बढीको कच्चा सोयाविन आयात भएको छ । जसमा युक्रेनबाट ७९ करोड ४७ लाखको कच्चा सोयाविन आयात भएको छ । त्यस्तै अर्जेन्टिनाबाट सबै भन्दा बढी २७ अर्बको सायोविन आयात भएको छ । विभिन्न देशबाट ४२ अर्ब ५२ करोडको कच्चा पदार्थ आयात हुँदा १५ अर्ब ६३ करोड भन्दा बढीको सोयाविन तेल निर्यात भएको छ ।  त्यस्तै चालु आर्थिक बर्षमा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको सनफ्लावर तेलको कच्चा पदार्थ आयात भएकोमा ९ अर्ब ५१ करोड बराबरको कच्चा पदार्थ युक्रेन बाट मात्रै यात भएको छ  ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै