Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

प्रदेश १ को नाममा छलफल गर्दै दलहरु, यी हुन् सम्भावित प्रस्ताव

अन्य प्रदेशहरुको नामकरण भइसके पनि प्रदेश १ को पाँच वर्षे कार्यकालको उत्तरार्धसम्म पनि नाम तय हुन सकेको छैन । प्रदेश १ को नामकरणका लागि आज सर्वदलीय बैठक बस्ने भएको छ ।

 

बैठकमा सत्ता गठबन्धनमा रहेका पाँच दल, मुख्य विपक्षी नेकपा एमाले र विपक्षी दल राप्रपासहितले नामबारे छलफल गर्न लागेका हुन् । मुख्यमन्त्रीको कार्यालय विराटनगरमा डाकिएको सर्वदलीय बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरु, संसदीय दलका नेताहरु सहभागी हुँदै छन् । 

 

यसबीचमा सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले प्रदेशको नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ । 

 

पछिल्लो समय प्रदेशको नामांकनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने बताएको हो । 

 

जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले आज विज्ञप्ति जारी गरी प्रदेश नामकरण सम्बन्धमा २०७७ असोज २३–२४ गते नै निर्णय गरिएको स्मरण गराउँदै प्रदेशको नामकरण पहिचानका आधारमा नै हुनुपर्दछ भन्नेमा जसपा स्पष्ट र प्रतिबद्ध रहेको उल्लेख छ । 

 

प्रदेशको सत्ता गठबन्धनलाई एउटै नाममा सहमति जुटाउने र त्यसलाई प्रदेशसभाबाट पारित गराउनु सकस हुने देखिएको छ । हालसम्म सत्तारुढ गठबन्धनभित्र नामबारे समान धारणा बनिसकेको छैन । एकल पहिचानको नामको पक्षमा माओवादी छ भने बहुपहिचानको पक्षमा कांग्रेस र एकीकृत समाजवादी छ । हालसम्म विजयपुर प्रदेश र विराट प्रदेशको नाम चर्चामा आएको छ । 

 

निर्णायक मानिएको एमालेले पनि हालसम्म नामबारे टुंगो लगाएको छैन । किरात, सगरमाथा वा कोशीजस्ता शब्द जोड्नुपर्ने धारणा पनि आएका छन् । 

 

प्रदेश १ को प्रदेशसभामा ९३ सांसद छन् । एमाले सांसद ४१ (सभामुखसहित) नेपाली कांग्रेस २१, माओवादी केन्द्र १५ (१६ मध्ये १ पदमुक्त), एकीकृत समाजवादी १०, जसपा ३ र राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १–१ जना छन् । प्रदेश नाम राख्न दुई तिहाइ मत अर्थात् ६२ जना आवश्यक पर्छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै