
आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ ।
मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको निर्वाचनको तुलनामा आगामी २०७९ बैशाख ३० गते गरिने स्थानीय तहको निर्वाचनमा खर्च बढ्ने बताएका छन् । आयोगले निर्वाचन प्रयोजनका लागि १२० दिन पाउनुपर्नेमा अब केबल ९०, ९५ दिन मात्रै आयोगसँग भएकाले सबै कामहरु फाष्टट्रयाकबाट गर्नुपर्दा खर्च बढ्ने उनले जानकारी दिएका छन् ।
सामान खरिदका लागि लामो समय राखेर प्रतिस्पर्धा गराउन नसक्दा, आयोगको कर्मचारीले नपुगेर बाहिरबाट कर्मचारी ल्याउनुपर्ने अवस्था लगायतका कारणले निर्वाचनमा खर्च बढ्नेभएको उनले उल्लेख गरेका छन् ।
‘पक्कैपनि चुनौतिपूर्ण छ । किनभने हामीले १२० दिन समय प्राप्त गर्नुपर्नेमा ९०, ९५ दिनको समय प्राप्त भएको छ । यसले करिब करिब निर्वाचनका लागि आवश्यक पर्ने समयको २५ प्रतिशत जति समय कटौती भएको अवस्था हो । यसले गर्दा हामीले कतिपय कामहरु फाष्टट्रयाकमा गर्नुपर्ने अवस्था छ । यसले गर्दा केही प्रतिस्पर्धाहरु, लजिस्टिकहरु प्रतिस्पर्धाहरु लिमिटेड हुनसक्ने अवस्थाहरु छन् । ३० दिनको म्याद दिनुपर्ने ठाउँमा निर्वाचन आयोग ऐनको दफा प्रयोग गरेर १५ दिन, २० दिन अथवा १० दिनको समय दिएर प्रतिस्पर्धा गराउनुपर्ने, त्यसले गर्दा हामीले जुन मुल्यमा हामीले प्राप्त गर्नुपर्ने हो त्यो भन्दा बढी पनि हुनसक्ने अवस्था छ’ उनले भने ।
‘टाइम प्रेसर भएको कारणले फाष्टट्रयाकमा गर्नु पर्दाखेरी खर्चहरु बढ्छन् । एक त प्रक्युरमेन्टमा पनि यथेष्ट प्रतिस्पर्धा नहुन सक्छ । यथेष्ट प्रतिस्पर्धा नभइसकेपछि मुल्य उच्च हुने सम्भावना छ । त्यस्तै कर्मचारीहरु अहिले निर्वाचन आयोगसँग अथवा जिल्ला निर्वाचन कार्यालयसँग भएका कर्मचारीले नपुगेर बाहिरबाट कर्मचारीहरु ल्याउनुपर्ने हुनसक्छ । बाहिरबाट कर्मचारी ल्याउँदाखेरी उहाँहरुलाई त्यसका लागि निर्वाचन एलान्सेजहरु छुट्टै दिनुपर्ने हुनसक्छ । यसले गर्दा निश्चित रुपमा १२० दिनमा गर्दाखेरी लाग्ने कस्ट भन्दा अहिले दिइएको ९०, ९५ दिनमा निर्वाचन गराउनु पर्दाखेरी
केही कस्टहरु बढ्ने देखिन्छ’ उनले भने ।
आयोगले निर्वाचनमा भाग लिनका लागि कुनै राजनीतिक दलको सम्बन्धमा विवाद नभएको बताएको छ । पछिल्लो समय जन्मिएका नयाँ राजनीतिक दलहरुपनिको विवाद पनि सर्वोच्च अदालत तथा निर्वाचन आयोगले सल्ट्याइसकेको आयोगका प्रवक्ता पौडेलले बताएका छन् । हाल आयोगमा १०५ वटा राजनीतिक दल दर्ता भएका र निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशित नभएसम्म अरु दल पनि दर्ता हुन सक्ने र निर्वाचनमा भाग लिन सक्ने उनले स्पष्ट पारेका छन् ।
‘सर्वोच्च अदालत, निर्वाचन आयोगले अहिले हाम्रो निर्वाचन आयोगमा त्यो सबै कुराहरु सल्टिएर १०५ दल कायम छन् । र यि १०५ दल र अझैपनि हामीले स्थानिय तह निर्वाचन प्रयोजनका लागि दल दर्ताको लागि आव्हान गर्ने सूचना प्रकाशित नभएको मितिसम्म अझैपनि दल दर्ता हुनसक्छन् । ति सबै दलहरु स्थानीय तहको निर्वाचनको लागि यदी हामीले निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्न आव्हान गरेको सूचना बमोजिम उहाँहरु दर्ता हुन आउनुभयो भने हाल कायम रहेका सबै दलहरु निर्वाचनको लागि योग्य हुन्छन्’ उनले भने ।
आयोगले सरकारले तोकेको २०७९ बैशाख ३० गते निर्वाचन सम्पन्न गर्न सक्ने बताएको छ । प्रवक्ता पौडेलले आयोगले सबै लेखाजोखा गरेर नै सय दिनको आसपासमा निर्वाचन गर्न सकिने गरी प्रधानमन्त्री समक्ष मिति प्रस्ताव गरिएको बताएका छन् । निर्धारित समयमै निर्वाचन सम्पन्न गर्नेगरी आयोग अगाडि बढिरहेको उनले बताएका छन् । उनले निर्वाचनका लागि जनशक्तिको समस्या नभएको पनि बताएका छन् । निर्वाचन सम्बन्धी कानुनी व्यवस्थाका आधारमा विभिन्न निकायबाट कर्मचारी परिचालन गर्न सकिने उनले बताएका छन् ।
आयोगले केही दिनभित्रमै २०७९ बैशाख ३० गते सम्मकै लागि निर्वाचन कार्यतालिका प्रकाशित गर्ने बताएको छ । निर्वाचन कार्यतालिकाको विषयमा छलफल भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । उनले मतदाता नामावली संकलनको कार्य स्थगित भएको उल्लेख गर्दै अब मतदाता नामावलीको अद्यावधिकको काम सुरु हुने बताएका छन् । अन्तिम मतदाता नामावली प्रकाशित हुनभने अझै डेढ महिना लाग्ने निर्वाचन आयोगले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit