Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

हाम्रा सांसद सभामुखलाई महाअभियोग लगाउन स्ट्याण्डबाई बसेका छन् : महेश बस्नेत 

नेकपा एमालेका सांसद महेश बस्नेत

नेकपा एमालेका सांसद महेश बस्नेतले सभामुखलाई महाअभियोग ल्याउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन् ।

 

 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउने परिस्थिती सिर्जना हुनसक्ने बताएका छन् । उनले नेकपा एमालेमा १०० जना सांसद महाअभियोग लगाउने कुरामा स्ट्याण्डबाई रहेको भन्दै पार्टीले संख्या पु¥याउने पहल गरेमा सभामुखलाई महाअभियोग लगाउन सकिने टिप्पणी गरेका छन् । 

 

 

उनले बुद्धिजीविहरुले पनि महाअभियोग लगाएर सेफ ल्याण्डिङ गराउने कुरा राखेको बताएका छन् । सांसद बस्नेतले बुधबारबाट सदन सुरु हुने भएको बताउँदै त्यसमा नेकपा एमालेको भूमिका आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई कारबाही नगरे संसदमा बिरोध जारी रहने बताएका छन् । उनले संसदमा एमसीसीको विषय प्रवेश हुने सूचना पाएको भन्दै सभामुखले व्यवस्थित ढंगले सदन सुचारु नगरे र आफ्नो पार्टीले राखेका माग पूरा नगरे सदनमा एमालेको बिरोध स्वभाविक रहने स्पष्ट पारेका छन् ।

 

 

‘एमालेले सभामुख ज्यूलाई महाअभियोग दर्ता गरेर सेफ ल्याण्डिङ खोजोस् भन्ने कतिपय बुद्धिजीविहरुको सुझाव पनि छ । अस्ति एउटा कार्यक्रममा डा. मिनेन्द्र रिजाल र म सँगै थियौँ, युवासंघको कार्यक्रममा । उहाँले पनि त्यो भन्नुभयो । एमालेले महाअभियोगको प्रस्ताव दर्ता गरोस्, पास वा फेल हुने एउटा कुरा भयो । त्यसपछि सदनलाई सुचारु गर्ने कुरामा एउटा सेफ ल्याण्डिङको विषय हुनसक्छ भन्ने पनि आएको छ । त्यो बारेमा नेकपा एमालेले अहिलेसम्म कुनै ठोस निर्णय गरिसकेको छैन । त्यसैले यो नै हुनसक्छ भन्न म सक्दिन तर एउटा विषय त्यो पनि हुनसक्छ’ उनले भने ।

 

 

‘सभामुख ज्यूलाई महाअभियोग ल्याउन सक्ने एउटा परिस्थिति सिर्जना पनि हुनसक्छ उहाँको कारणले । तयारी गर्नै पर्दैन, हामी १०० जना स्ट्याण्डबाई छौँ, जुन बेला पनि सही गर्न तयार नै छौँ । अब त्यसलाई संख्या पु-याउने कुरामा पार्टीले पहल गरेर त्यो परिस्थिती सिर्जना गरेमा हुन पनि सक्छ । भोलिदेखि सदन शुरु हुन लागेको छ । त्यसमा हाम्रो भुमिका कस्तो हुन्छ भन्ने छ । सदनमा एमसीसी विषयले प्रवेश पाउने खालको स्थिति देखिँदैछ । कार्यव्यवस्था समितिको बैठक डाकेर एमसीसीको सदनभित्र कसरी छलफल र प्रवेश गराउने भन्ने विषयमा सभामुख ज्यूले पहल लिँदै हुनुहुन्छ भन्ने कुरा हामीले सुन्न पाएका छौँ । म सभामुख ज्यूलाई फेरि पनि अनुरोध गर्न चाहन्छु, विद्यमान ऐन, कानूनलाई सम्मान गर्नु उहाँको धर्म हो र उहाँ प्रतिनिधिसभाको अभिभावको हिसावले भुमिका खेल्नुपर्छ । दलहरुको बीचमा पक्षपातपूर्ण व्यवहार गर्नुहुँदैन’ उनले भने ।

 

 

‘सभामुखज्यूका सामु तीन विकल्प छन्, उहाँले एमालेले कारबाही गरेका १४ जना सांसदहरुको पत्रलाई सदर गर्नेकुरा उहाँको उत्तम विकल्प हो । यदी त्यस्तो हुन नसके उहाँले आफ्नो पदबाट राजीनामा दिएर परिस्थितिलाई सहजीकरण गराउने कुरा दोस्रो विकल्प हो र तेस्रो विकल्प भनेको अदालतमा मुद्दा गइरहेको सन्दर्भमा अदालतले छिटो फैसला गर्ने कुरा हो । यस विषयको छिनोफानो स्पष्ट तरिकाले गर्नुपर्छ भन्नेमा नेकपा एमाले स्पष्ट छ । त्यो नभएसम्म सदनमा एमालेको बिरोध स्वभाविक ढंगले रहन्छ । हामीले बिरोध मात्रै गरेका छौँ अवरोध गर्ने तहमा गइसकेका छैनौँ । यदी एमालेलाई पेलेर जान्छु भन्ने सोचेर अघि बढे अवरोध गर्ने तहमा पनि जानुपर्न सक्छ । यसमा म सभामुख ज्यूलाई आफ्नो भुमिका त्यो ढंगले व्यवस्थित गर्न र मर्यादापालक लगाएर, बल प्रयोग गरेर सदन जबरजस्ती चलाउने र एमालेलाई कमजोर बनाउने भुमिका नखेल्न अनुरोध गर्न चाहन्छु’ उनले भने ।

 

 

सांसद बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई लेखेको पत्र राज्य शक्तिको दुरुपयोग भएको बताएका छन् । उनले प्रधानमन्त्री देशको शक्तिशाली व्यक्ति भएर पत्र लेख्ने कुरा स्वभाविक भएको तर पार्टीको अध्यक्षले प्रधानमन्त्रीसँगै हस्ताक्षर गरेर पठाउँदा त्यसले राज्य शक्तिको दुरुपयोग भएको बताएका छन् । उनले प्रचण्डले एमसीसीका बारेमा दोहोरो चरित्र देखाएको भन्दै यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको कुटनीतिक क्षमतामाथि प्रश्न उठेको बताएका छन् । उनले प्रधानमन्त्री देउवाले पनि एउटा पार्टीको अध्यक्षलाई आफू सरहको अधिकार दिएर गल्ती गरेको आरोप लगाउनु भयो । सांसद बस्नेतले राज्य शक्तिको दुरुपयोग गर्नेहरुलाई कानूनि कारबाही गर्नुपर्ने बताएका छन् । उनले नेकपा एमाले एमसीसीका बारेमा स्पष्ट रहेको र सरकारको धारणापछि मात्रै पार्टीले आफ्नो धारणा राख्ने स्पष्ट पारेका छन् ।

 

 

‘प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनाको सन्दर्भमा जुन पत्र लेख्नुभयो, प्रधानमन्त्रीको हैसियतले लेखेको पत्र, प्रधानमन्त्रीले एउटा पावर अफ स्टेट पनि भनिन्छ, उहाँले लेख्ने कुरा त्यो स्वभाविकै पनि होला । यद्यपी हामीले यसलाई सदनको विषय बनाउने भनिसकेपछि यो व्यवस्थापिका भित्रको कार्यक्षेत्रको विषय बन्यो । तर ए माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सिक्नेचर गर्ने कुरा पावर अफ स्टेटको दुरुपयोग हो । राज्यको शक्तिको दुरुपयोग हो । यो दुरुपयोग गर्ने अधिकार प्रचण्ड र माओवादी केन्द्रलाई कहाँबाट प्राप्त भयो ? यो गम्भीर प्रश्न हो’ उनले भने ।

 

 

‘अर्को कुरा उहाँको दोहोरो चरित्र एकातिर एमसीसी परियोजना पास गर्नको निमित्त राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिहरुसँग लिखित प्रतिवद्धता जनाउँदै जाने, अर्कोतिर त्यो संशोधन बिना पास हुन सक्दैन भनेर जनतामा भ्रम छर्दै जाने, अनि दुई वटा जिब्रा भएका प्रचण्ड र दुई वटा मुख भएको नेकपा माओवादी केन्द्र उहाँले बनाउने । पक्षमा भित्र भुमिका खेल्न पनि जाने विपक्षमा कहिले लिलामणि पोखरेललाई बोल्न लगाउने, कहिले देवराज गुरुङलाई बोल्न लगाउने । यसले उहाँको गिर्दो छविलाई अझ तीव्र गतिले गिराएको छ । अन्तर्राष्ट्रिय रुपमा नेपालको कुटनीतिक क्षमतामाथि गम्भीर प्रश्न उठेको छ’ उनले भने ।

 

 

सांसद बस्नेतले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले एक्लै प्रतिष्पर्धा गर्ने बताएका छन् । उनले स्थानीय तहको निर्वाचनमा कतिपय स्थानमा भने स्थानीय आवश्यक्ताका आधारमा तालमेल गर्न सक्ने बताएका छन् । सांसद बस्नेतले माधवकुमार नेपाल र प्रचण्डको दोहोरो चरित्रका बारेमा प्रधानमन्त्री पनि सचेत रहन आवश्यक रहेको औँल्याएका छन् ।

 

 

‘प्रचण्ड र माधवकुमार नेपाल जी निर्वाचन गर्दा सकेसम्म काँग्रेससँग गठबन्धन गर्ने, काँग्रेससँग नसक्दा एमालेसँग पनि वार्ता गर्ने खालका विविध शक्तिहरु मार्फत एमालेसँग पनि कता कता साइनो जोड्न खोज्ने, सम्बन्ध नभत्काइ हालाँै भन्ने परिस्थिति सिर्जना गर्ने र एउटा अन्योलता सिर्जना गर्ने ढंगले लाग्नुभएको छ । मलाई लाग्छ, उहाँहरुको यो प्रवृत्तिसँग नेपाली काँग्रेसका सभापति वर्तमान सम्माननीय प्रधानमन्त्री ज्यू सचेत हुन आवश्यक छ । नेकपा एमाले त सचेत भइसकेको छ । निर्वाचनमा नेकपा एमाले मुलभुत रुपमा एक्लै जान्छ । तर कतिपय ठाउँमा निर्वाचनमा गठबन्धन निर्माण गर्ने भन्दा पनि स्थानीय आवश्यक्ताका आधारमा तालमेलहरु हुन सक्छन् । त्यो कुरालाई नेकपा एमाले स्वीकार गरेर जान्छ’ उनले भने ।

 

 

उनले माओवादी केन्द्रका केही नेताहरुले कानूनि रुपमा चुनौति दिएर अदालत जाने र चुनाव सार्ने षड्यन्त्रमा लाग्न सक्ने बताएका छन् । उनले आफ्नो पार्टीको भविष्य अन्धकार देखेको कारण प्रचण्ड र नेपालले चुनाव सार्ने षड्यन्त्रमा लागेको आरोपसमेत लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

नेकपा फुटदैन्, सरकार परिवर्तन हुन सक्लाः  नेता भीम रावल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भीम रावलले कुनै पनि हालतमा पार्टी नफुट्ने दाबी गरेका छन् ।

माघ २५, २०७८