Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

गठबन्धनमा अपमानपूर्ण व्यवहार भए मान्य हुँदैनः नेपाल 

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने बताएका छन् । 

 


नेपालले अरुको शक्तिको अवमूल्यन गर्ने र उनीहरुमाथि अपमानपूर्ण ढंगको व्यवहार गर्ने काम स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलार्ई लिएर जिल्ला जिल्लामा हुने गरेको रिर्पोट आएको उल्लेख गर्दै सह्य नहुने बताएका हुन् । 

 


मंगलबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी)सँग नेकपा (गौरवशाली) पार्टीको एकता घोषणा कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी भएकाले कुनै पनि खालको अपमान सहन नसकिने बताए । 

 


नेपालले पार्टीको पक्षमा जनलहर ल्याउने गरी चुनावको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।  

 

उनले भने, ‘चुनावमा हामी पाँच दल मिलेर जाने सोच बनाएका छौं । आज पनि हाम्रो त्यसै शिलशिलामा वार्ता भइरहेको छ । महानगरपालिकाका कसरी सिटको तालमेल मिलाउने, उपमहानगरपालिकामा कसरी सिटको तालमेल मिलाउने, अनि सबै पालिका र वडाहरुमा सिटको तालमेल कसरी मिलाउने ? अहिले विभिन्न पार्टीमा मानिसहरु उम्मेदवार बन्न तानातान गरिरहेका छन् ।’ 

 


अध्यक्ष नेपालले निर्वाचनमा आफ्नो पार्टीको चिन्ह कलम भएको र यसको प्रचारप्रसारमा जोड दिन पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै