
अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै उनले तथ्याङ्क विभागले आर्थिक वृद्धिदरमा प्रक्षेपण गरेको भन्दा बढी हुने बताएका हुन् ।
उनले मुलुकको अर्थतन्त्र सही दिशामा रहेको बताए । आर्थिक सल्लाहकार उप्रेतीले अर्थतन्त्रको बाह्य क्षेत्र र मुद्रास्फीतिमा दबाब रहेको स्वीकार गर्दै यो समस्या चाँडै समाधान हुने दावी गरे । उनले कोरोना महामारीपश्चात् बैंक तथा वितीय संस्थाहरुबाट उच्च कर्जा लगानी हुँदा पनि अहिले अर्थतन्त्रमा केही समस्या देखिएको बताए ।
मौद्रिक नीतिले १९ प्रतिशत कर्जा लगानी हुने अनुमान गरे पनि केही समयअघि ३८ प्रतिशतसम्म पुगेको बताए । निर्यात भन्दा पनि आयात ह्वात्तै बढेकाले वाह्य क्षेत्रमा दबाब परेको उनको भनाइ छ । आर्थिक सल्लाहकार उप्रेतीले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत मूल्यवृद्धि हुने अनुमान भए पनि रुस र युक्रेनको युद्धको कारणले ७.१ प्रतिशतको मूल्यवृद्धि भएको उल्लेख गरे ।
उनले सरकारले आगामी आर्थिक वर्षको बजेट कृषि, उत्पादन रोजगारीमा केन्द्रित हुने बताए । उनले बाह्य क्षेत्रमा सन्तुलनमा ल्याउन भए पनि अबको बजेटमा कृषि, रोजगारी र उत्पादनमूलक क्षेत्र केन्द्रित हुनु आवश्यक रहेको बताए ।
त्यस्तै अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कूल गार्हस्थ्य उत्पादन(जिडिपी)मा कृषिको योगदान १५ प्रतिशतमा झरे मुलुकमा ठूलो आर्थिक दुर्घटना हुने दाबी गरे । उनले यस्तो अवस्था आउन नदिन सरकारले आगामी वर्षको बजेटमा कृषि र रोजगारीलाई प्रमुख प्राथकिता राखेर बजेट ल्याउनु पर्ने आवश्यकता औंल्याए ।
डा.अधिकारीले सरकारले प्रतिस्थापन विद्येयकमार्फत् ल्याएको बजेट कार्यान्वयनमा समस्या देखिएकाले अर्थतन्त्रमा समस्या देखिएको बताए। सरकारले जुन लक्ष्यका साथ प्रतिस्थापन बजेट ल्याएको थियो त्यो लक्ष्य पूरा गर्न नसकेको दाबी उनको छ । सरकारले मुलुकको अर्थतन्त्र सही दिशामा रहे पनि अर्थतन्त्रका सूचकले अर्थतन्त्र संकटउन्मुख नै देखाएको उनको भनाइ छ ।
त्यस्तै, अर्थ राजनीतिक विश्लेषक हरि रोक्काले मुलुकको पुँजीगत खर्च गर्ने निकायहरु नै काम गर्न लायक नभएको बताए । उनले अर्थतन्त्र सुधारका लागि संरचना नै परिर्वतन गरेर नयाँ बनाउनु पर्ने बताए । रोक्काले नेपालबाट निर्यात हुने उद्योगहरुको भ्यालु इडिसन हुनुपर्ने बताए ।
त्यस्तै, बैंक तथा वित्तीय सल्लाकार डा. शालिकराम पोखरेलले विदेशबाट नेपाल आउने रेमिटेन्सको प्रभावले अर्थतन्त्रमा समस्या आएको बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit