
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गरेका छन् । काठमाण्डौमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गरेका हुन् ।
भुकम्पले ध्वस्त बनाएका संरचनाहरुको पुर्ननिर्माण, अस्पताल र बाटाहरु निर्माणका लागि सरकारले उल्लेखनिय काम गरेको दाबी प्रधानमन्त्री ओलीको थियो । विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरुले सरकारको विकल्प खोज्नेतर्फ उन्मुख भएको भन्दै उनले त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई “सकुनी”को संज्ञा दिए । उनले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने ‘सकुनीका गोटी’ नै आफुले फ्याकिदिने चेतावनी दिए ।
‘सरकार परिर्वतनका प्रयासहरु भईरहेका छन् । सरकार परिर्वतन गर्न खोज्नेहरुलाई मैले सोध्ने गरेको छु । सरकार किन परिर्वतन गर्नुपर्यो ? पुर्ननिर्माणका काम अघि बढीरहेकाले हो ? कि अरु केही कारण छन् । हामीले ३ सय ९ वटा अस्पतालको एकैचोटी सिलन्यास गर्यौ, धमाधम बन्दैछन् । त्यसकारणले हो ? १ सय ६५ वटा बाटाहरु एकैपटक सिलन्यास गर्यौ र बन्दैछन् । त्यसकारणले हो ? एकहप्ता भित्र देश भित्र नयाँ ८ वटा औद्योगिक क्षेत्रहरु स्थापना गर्यौ । त्यसकारणले हो ? केही पनि भएन भन्नुहुन्छ उहाँहरु । यो त लखनौको एक्काको घोडाले पनि देख्छ यो भन्दा बढी त । त्यसले बाटो त देख्छ । यी त बाटो पनि देख्दैनन् । मलाई अचम्म लाग्छ’ , उनले भने ।
मुलुकमा अस्थिरता ल्याउन खोज्नेहरुले संसदीय अंकगणितलाई व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गर्ने प्रयास गरिरहेको उल्लेख गर्दे उनले आफुले त्यस्तो हुन नदिने दाबी गरे । उनले राजनीतिमा देखिएका सकुनीहरुले संसदको अंकगणितलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोजेको उल्लेख गर्दे सकुनीका गोटी नै फ्याँक्न आफु एक्कै पर्याप्त भएको दाबी गरे ।
सम्मृद्ध नेपाल निर्माणको उद्देश्यकासाथ अघि बढेका र सिसिमा औषधी बेच्नेबीचको भेद खुट्याउनुपर्ने भन्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कटाक्ष गरे ।
‘जबसम्म राजनीति परिपक्क हुदैन तबसम्म, जबसम्म मान्छेले सही र गलत छुट्याउदैन तबसम्म, जबसम्म देश र व्यक्तिगत स्वार्थका बीचको अन्तर छुट्याउन सक्क्तैन आम जनताले तबसम्म यस्ता समस्याहरु देखा पर्छन । देश बनाउने संकल्प र अठोट र एउटा सिसिमा औषधी बेच्नेका बीचको भेद, एउटा अर्थपुर्ण कुरा र विज्ञापनलाई एट्रक्याटिभ बनाउनका लागि गरिएको प्रचारका बीचमा भेद पाउँदैनौ भने अनि देश अलमलमा पर्छ । बेच्नुपर्ने हुन्छ एउटा गोगो सावन । विज्ञापनमा के आउँछ ? गाईले पनि तैलाई लखेट्छ । कुखुराले पनि तैलाई लखेट्छ् भनेर आउँछ । गोगो सावन र गाई र कुखुराले लखेट्ने कुराको भेट कहाँ हुन्छ ? तालमेल नभएका कुराको विज्ञापन र देश विकास गर्ने अठोट संकल्प, दृष्टिकोणका बीच भिन्नता छुट्याउनुपर्यो । अलि अलि समस्या त हुन्छन्’, उनले भने ।
सम्मृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि उद्योगव्यवसायलाई सबै ढंगले सुदृढ बनाउनुपर्ने भन्दै उहाँले सम्मानित उद्योग व्यवसाय, सम्मुन्नत नेपालको मर्म अनुसार अघि बढ्नुपर्नेमा जोड दिए । देशले पनि उद्योगव्यवसायीबाट सम्मानयोग्य व्यवहारको अपेक्षा गर्ने भन्दै उहाँले त्यसतर्फ पनि सबैलाई सचेत गराए ।
उनले उद्योग व्यवसाय विस्तार र विकासमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको भन्दै सरकारलाई बुँदागत रुपमा सुझाव दिन आग्रह गरे ।
उद्योग बाणिज्य महासंघले ल्याएको आर्थिक रुपान्तरण सम्बन्धी प्रतिवद्धता सकारात्मक कदम भएको भन्दै उनले त्यसलाई सफल पार्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता औल्याए । सन् २०३० सम्म दिगो विकासका सबै लक्ष्य हासिल गरि विकसित मुलुकको रुपमा उभ्याउने राष्ट्रिय आकांक्षा पुरा गर्ने उद्देश्य साथ सरकार अघि बढीरहेको भन्दै उनले त्यसमा बिलम्ब हुने गरि कसैले काम गर्न नहुने तर्फ सचेत गराउनुभयो । दिगो विकासका लक्ष्य सन् २०३० सम्म पुरा गर्नुपर्ने भएकाले तिब्र विकासमा जानै पर्ने बाध्यता सरकारलाई रहेको उनले स्पष्ट पार्नुभयो ।
उनले बैदेशिक लगानीका स्टाटअप बिजनेसका लागि सरकारले तोकेको लगानीको सिमा सही र यथार्थपरक रहेको दाबी गरे । भुटान र माल्दिभ्सको उदाहरण दिदै उनले नेपालमा लगानी गर्न आउनेहरुले यहीबाट कमाएर प्लेन चढ्ने वातावरण श्रृजना गरेर नेपालले फाईदा लिन नसक्ने तर्फ उद्योगीहरुको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री ओलीले कोभिड १९ ले केही गम्भीर धक्का पुर्याएको भएपनि सरकार सबै क्षेत्रमा सम्हालिएर अघि बढीरहेको र सफलता पनि प्राप्त गरेको दाबी गरे । व्यापार घाटालाई कम गर्नतर्फ सरकारले सफलता प्राप्त गरेको उनले बताए । उनले आयात निर्यातको सन्तुलन मिलाउने तर्फका प्रयास सफलताउन्मुख भएको,मजदुर हड्तालको समस्या समाधान हुनुको साथै नेपालबाट हिंसा समाप्त भएकाले उद्योग विस्तारका लागि उपयुक्त वातावरण बनेकाले उद्योग व्यापारलाई शान्तिपुर्ण र भयरहीत वातावरणमा अघि बढाउन सकिने बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit