
काठमाडौंका दक्षिणकाली क्षेत्रमा अवैध खानी उत्खनन भइरहेको स्थानीयले गुनासो गरेका छन् । ढुंगा, बालुवालगायत प्राकृतिक स्रोतसाधनको राति राति अवैध उत्खनन भइरहे पनि नियामक निकायले रोक्न नसकेको उनीहरुले गुनासो गरेका हुन् ।
पछिल्लो समय दक्षिणकाली क्षेत्रमा भइरहेको दोहनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो । आयोग स्रोतका अनुसार यसबारे अनुसन्धान भइरहेको छ । जनप्रतिनिधिले रोक्न कोसिस गरे पनि दोहनकर्ताको शक्तिकेन्द्रसम्मको पहुँचका कारण रोक्न नससकिएको बताउँदै आएका छन् ।
अवैध उत्खननले यहाँको प्राकृतिक सम्पदामा क्षति पु¥याइरहेको जनगुनासो छ । उत्खनन गर्ने कम्पनीले संघ सरकारबाट अनुमति लिएर आउने र मापदण्ड विपरीत प्राकृतिक सम्पदाको दोहन गर्ने गरे पनि कारबाही हुन नसकेको जनप्रतिनिधिहरुको भनाइ छ ।
क्रसर उद्योग, ढुंगा खानी र बालुवा खानीसम्बन्धी कम्पनीले अवैध रुपमा उत्खनन गरिरहेको भन्दै अख्तियारमा परेको उजुरीमा दक्षिणकाली नगरपालिका–७ र ८ क्षेत्रमा रहेका सार्वजनिक वन, जग्गा र खोलानाला क्रमिक रुपमा मास्दै खानी सञ्चालन भइरहेको उल्लेख छ ।
सो क्षेत्रमा झम्केश्वरी रोडा ढुंगा र दर्शद बलामी उद्योगले उत्खननको ठेक्का पाएका छन् । तर, ती उद्योगले मापदण्डविपरीत उत्खनन गरिरहेको र यसले आफूहरुलाई पनि असर परिरहेको स्थानीयले जनाएका हुन् ।
हाल उद्योगले उत्खनन गरेको क्षेत्रभन्दा ठीक तलबाट सरकारले काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माण गर्दै छ । जभाभावी उत्खननले द्रुतमार्गमा पनि असर पर्ने देखिएको छ ।
दक्षिणकाली–७ का वडाध्यक्ष हरि तिमिल्सिनाले सत्ता र शक्तिको बलमा संघ सरकारबाट अनुमति लिएर कम्पनी आउने गरेको बताए । ‘कम्पनीहरुले खानी तथा भूगर्भ विभागबाट अनमुति ल्याएपछि नगरपालिकाबाट स्वीकृत हुन्छ,’ उनले भने, ‘हामीले रोक्न गाह्रो हुन्छ ।’
दक्षिणकाली–८ मा भने हाल पनि दुईटा ढुंगा खानी सञ्चालनमा छन् । विभागबाट अनुमति पाएकाले उनीहरुलाई बन्द गर्न नसकिएको नगरपालिकाले जनाएको छ । त्यहाँका वडाध्यक्ष राजकुमार लामाले खानीहरुमा मापदण्डविपरीत उत्खनन हुँदा दक्षिणकाली खोला, जंगल, द्रुतमार्गमा पनि असर पुगेको बताए । दक्षिणकाली नगरपालिकाका अनुुगमन तथा प्रशासन प्रमुख दीपक केसीले आफूहरुले रोक्न खोजे पनि राति दोहन हुने गरेको बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले हालसम्म उक्त क्षेत्रमा अवैध उत्खनन भइरहेकोबारे कुनै गुनासो वा उजुरी नआएको पर्दाफासलाई बताए । ‘प्रशासनले हामीलाई जानकारी गराए त्यस्तो उत्खनन रोक्न र कारबाही गर्न सधैं तयार छौं । तर अवैध उत्खननबारे हामीले जानकारी पाएका छैनौं, प्रशासनबाट पनि हामीलाई कुनै निर्देशन आएको छैन,’ उनले भने ।
हाल काठमाडौंकै दक्षिणकाली मात्र होइन, मूलपानी र सीतापाइला क्षेत्र, ललितपुरको लेले क्षेत्र र भक्तपुरको नगरकोट क्षेत्रमा निर्बाध प्राकृतिक दोहन सुचारु छ । यी स्थानहरुमा केहीले नाम मात्रको अनुमति लिएका छन् भने धेरैले सुरक्षा निकाय, स्थानीय प्रशासन र स्थानीय निकायको मिलमतोमा निर्बाध दोहन गरिरहेका छन् ।
प्रहरीले केही दिनअघि नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताका साथबाट नेपाली सेनाको युद्ध भैरब गणसँग सम्बन्धित महत्वपूर्ण...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit