
सशस्त्र प्रहरी बलमा तल्लो तहको दरबन्दी कटौती गरी उच्च तहका पदहरु थप गरिएको छ । गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले दरबन्दी समायोजनबारे सिफारिसअनुसार पछिल्लो मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।
समितिले सशस्त्रका तल्लो तहका १ सय ७४ दरबन्दी कटौती गरेको छ भने उच्च तहमा १ सय १२ दरबन्दी थपेको छ । यसअनुसार सशस्त्रमा ६२ दरबन्दी घटेको छ ।
कानुनतर्फ एक एसएसपी, लेखातर्फ ३ एसपी, १० डीएसपी, १० इन्स्पेक्टर थपिएको छ । यस्तै, स्वास्थ्यतर्फ १ डीआईजी, १ एसएसपी, २ एसपी, ३ डीएसपी, २२ सईको दरबन्दी थप भएको छ । इन्जिनियरिङतर्फ १ डीआईजी, १ एसएसपी, ३ एसपी थप गरिएको छ । साधारण÷इन्फेन्ट्रीतर्फ १६ एसपी र ३७ डीएसपी थपिएका छन् ।
समितिले कटौती गरेको १ सय ७४ दरबन्दीमा लेखातर्फ असई २७, स्वास्थ्यतर्फ असई ३, सञ्चार इन्जिनियरिङ हवल्दारतर्फ ८, साधारण समूहतर्फ जवान १३५ जना र कानुनका १ इन्स्पेक्टरको दरबन्दी कटौती गरिएको छ ।
अब नयाँ संरचनाअनुसार साधारण समूह, साधारण उपसमूहतर्फ ३५ हजार ९४८ दरबन्दी हुने भएका छन् । यस्तै, साधारण समूह, लेखा उपसमूहतर्फ २०१, साधारण समूह, कानुन उपसमूहमा १४ जना, प्राविधिक समूह (सञ्चार तथा इन्जिनियरिङ तर्फ) मा ६ सय, प्राविधिक समूह (स्वास्थ्यतर्फ) मा २९१ जनाको दरबन्दी हुने भएको छ । सशस्त्रको कुल दरबन्दी ३७ हजार ५४ हुनेछ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit