
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले विराटनगरस्थित नोबेल मेडिकल कलेजमाथि कारबाही हुने बताएका छन् ।
सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपाध्यक्ष गिरीले नोबेल मेडिकल कलेजले विद्यार्थीहरुमाथि होस्टेलको बहानामा बढी पैसा लिएको सत्य भएको र पटक पटक ध्यानाकर्षण गराए पनि कलेजले अटेरी गरेको भन्दै अबको विकल्प कारबाही भएको बताएका हुन् ।
उनले छात्रावास उचित भए पनि छात्रावासमा बस्न मात्रै विद्यार्थी भर्ना नभएको बताए । उनले छात्रावासमा नबसेकै कारण विद्यार्थीहरुलाई कलेजले पठनपाठनबाट वञ्चित गराउन नमिल्ने जनाए ।
उपाध्यक्ष गिरीले कलेजलाई आयोगको तर्फबाट बारम्बार ध्यानाकर्षण गरेपनि कलेजले अपहेलना गरिरहेको भन्दै अबको विकल्प भनेको सिट नदिने वा सम्बन्धनको खारेजी भएको बताए । उनले कलेजलाई कारबाहीको लागि आयोगमा छलफल गर्ने पनि बताए ।
‘आजको दिनमा आउँदा उसले के गरेको छ भने होस्टेल अनिवार्य गरेर बढी पैसा लिने काम भइरहेको छ, जुन होस्टेलको शुल्क निर्धारण गर्ने काम आयोगको पनि छैन । आयोगले स्पष्ट भनेको छ कि, यो अनिवार्य गरेर जबरजस्ती पैसा असुल्न पाइँदैन । छात्रावास हुनु राम्रो कुरा हो तर छात्रावासमा बस्नको लागि विद्यार्थी कलेजमा भर्ना भएको होइन । कलेजमा पढ्नको लागि हो । छात्रावासमा नबसेको कारणले विद्यार्थीलाई पठनपाठनबाट वञ्चित गर्न पाइँदैन । हामीले भनेका कुराहरुको अपहेलना भएको छ, अब हामीसँग बाँकी भएका कुराहरु भनेको त्यो कलेजलाई कारबाही गर्ने हो । सिट संख्या घटाउने, वा नदिने, अथवा सम्बन्धनको खारेज गर्ने । यी कुरा गर्नको लागि हामी आयोगमा कुरा उठाउँछौँ,’ उनले भने ।
आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले अहिलेको विद्यार्थीको विषय भनेको रकमको नभई जीवनरक्षा, एकेडेमिक कुरा र छात्रावासको मात्र भएको बताए । उनले कलेजले छात्रावास अब अनिवार्य नगर्ने भनिसके पनि अटेर गरिरहेको जनाए ।
नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले कलेजले पैसा बढी लिएको वा घटी लिएको भन्ने अधिकार सदस्य सचिवलाई नरहेको भन्दै आक्रोश व्यक्त गरे । उनले नियमभन्दा बाहिर गएर कलेजले विद्यार्थीहरुसँग पैसा असुलिरहेको भन्दै सदस्यसचिव काफ्लेलाई आफ्नो भनाइ फिर्ता लिन आग्रह गरे । आयोगको सदस्यसचिवले अहिलेसम्म विद्यार्थीहरु अनसनमा आइसक्दासमेत उनीहरुको पीडा बुझ्न नसकेको श्रेष्ठले आरोप लगाए ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद एकवाल मियाँले विद्यार्थीहरुले त्यही कलेजमा पढ्न नसक्ने भन्दै उनीहरुको लागि सुरक्षित गन्तव्य खोज्नुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) का सांसद हितबहदुर तामाङले विद्यार्थीहरुबाट धेरै पैसा असुलेको कुरा प्रष्ट भएको भन्दै कलेजलाई कारबाही गर्नुपर्ने माग गरे ।
नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना बिशंखेले विद्यार्थीहरु नोबेल मेडिकल कलेजमा पढ्न नसक्ने भनेर हरेस खाइसकेको भन्दै अर्को स्थान सुरक्षित गर्नुपर्ने बताइन् ।
नोबेल मेडिकल कलेजको एमबिबिएस प्रथम वर्षका १० विद्यार्थीहरुले कलेजमा सुरक्षामा थ्रेट रहेको भन्दै काठमाडौंको माइतीघरमा रिले अनसनमा छन् । उनीहरुले कलेज स्थानान्तरणको माग सम्बोधन नभएको कारण गत पुस पहिलो साताबाट एमबिबिएस प्रथम वर्षको कक्षा सञ्चालन भइरहेको र स्थानान्तरण नहुँदा आफ्नो पढाइ बिग्रिएको गुनासो गरेका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit