Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

लालपुर्जा वितरण गर्न माग गर्दै सुकुम्बासी मोर्चा नेपालको र्‍याली 

बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले सरकारको ध्यानाकर्षण गराइएको छ । 

 

 

सोमबार संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले सो माग गर्दै काठमाडौंको माइतीघरमण्डलादेखि बिजुलीबजारसम्म ध्यानाकर्षण र्‍याली गरेको हो । कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिवास सदाका लागि बन्द गर्न सम्बन्धित निकायलाई दबाबमूलक ध्यानाकर्षण र्‍याली गरेको बताएका छन् । 

 

 

उनले एउटा सरकारले लालपुर्जा दिन फर्म भर्ने, अर्को सरकार उठिवासको सूचना टाँस्दै हिँडेकोले सरकारको द्वेतचरित्रको बिरुद्धमा ध्यानाकर्षण गराएको बताएका छन् । उनले अधिकार प्राप्तिको निम्ति प्रदर्शन गर्दा प्रशासनले छेक्ने काम गरेको आरोपसमेत लगाएका छन् । उनले सरकारले सुकुम्बासीहरुका झुपडी भत्काउने काम गरेकोले त्यसतर्फ ध्यानाकर्षण गराएको र राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा भने बमोजिम सुकुम्बासीका समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

 

 

‘आज नेपालमा सुकुम्बासीलाई बिना विकल्प उठिवास गराउने, एउटा सरकारले लालपुर्जा दिन फर्म भर्ने, अर्को सरकार उठिवासको सूचना टाँस्दै हिँड्ने सरकारको द्वेतचरित्रको बिरुद्धमा र सरकारलाई ध्यानाकर्षण गराउनका निम्ति हामी आज शान्तिपूर्ण, सांकेतिक ध्यानाकर्षण र्‍याली गरिरहेका छौँ । तर आजको हाम्रो ध्यानाकर्षण ¥यालीलाई प्रशासनले छेक्ने काम गरिरहेको छ । हामी अधिकार प्राप्तिको निम्ति प्रदर्शन गरिरहेका छौँ । हाम्रो झुपडी भत्काउने खालको सरकारको जुन रबैया छ, त्यसप्रति ध्यानाकर्षण गराउँछाैँ । देशभर कार्यक्रम सञ्चालन गर्ने संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको ध्यानाकर्षण भएको छ । बाघलाई संरक्षण गरेर राख्ने सरकारले भोट हालेका नागरिकलाई पनि संरक्षण गर्नुपर्छ । हिजो घोषणापत्रमा जे भन्नुभएको थियो, हामीलाई भोट हाल्नुस् हामी तपाईलाई पुर्जा दिन्छौँ भन्नुभएको थियो, तर सरकारले ५ वर्ष बितिसक्दा पनि हामीलाई बसोवासको आधारमा पुर्जा दिनुको साटो बिना विकल्प उठिवास गराउने सूचना प्रवाह गरेर तरंगित गरेको छ’ उनले भने ।

 

 

उनले सरकारले सुकुम्बासीहरुको समस्या तत्काल सम्बोधन नगरे देशभर प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै