Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

एमसीसीबारे संसदीय समितिको यस्तो छ भनाइ

नेकपा एमालेका नेता भीम रावलले एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई कारबाही गर्नुपर्ने बताएका छन् ।

 

 

नेता रावलले राष्ट्रको स्वाधीनता माथिनै गम्भीर आँच आउने सो सम्झौंता अनुमोदन गर्छौं भनेर प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई पत्राचार गरेको भन्दै दुबै नेतालाई कारबाही गर्नुपर्ने बताएका छन् । सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले सो बारे छानबिन गर्न पनि समितिसँग आग्रह गरेका छन् । उनले प्रतिनिधिसभामा विचाराधिन सो विषयमा पत्राचार गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै आपत्ति जनाएका छन् । 

 

 

‘अहिले भर्खरै यो देशका प्रधानमन्त्री र एउटा पार्टीका नेता यो एमसीसीमार्फत् कुटनीतिलाई कसरी कमजोर बनाउँदैछन ? कूटनीतिक क्षेत्रलाई फितलो बनाएर देशको स्वाभिमानमाथि धक्का पुग्दैछ भन्ने ज्वलन्त नमूना हो यो । यो प्रधानमन्त्री शेरबहादुर देउवा र त्यसपछि पुष्पकमल दाहाल प्रचण्डजीले संयुक्त रुपमा लेखेको पत्र हो । यो अन्तराष्ट्रिय सम्बन्ध समितिको सरोकारको विषय बन्नुपर्छ । यसरी कुनै एउटा देशको प्रधानमन्त्रीलाई, एउटा पार्टीको अध्यक्ष पूर्वप्रधानमन्त्री भईसकेको व्यक्तिले यस्तो पत्र लेखेर हामी एमसीसी सम्झौंतालाई अनुमोदन गर्नेछौं । हामीलाई समय दिनु प¥यो’ उनले भने ।

 

 

‘यो एमसीसी सम्झौताबारे नेपाली जनतालाई जानकारी गराउनका लागि सरकारी स्रोत हामी उपयोग गर्नेछौं भन्ने कुरा समेत विदेशलाई भन्ने भनेपछि हाम्रो कूटनीतिक कता गयो ? अनि यस्तो स्थितिमा कूटनीतिक क्षेत्रमा यो राजनीतिक र यस्तो ज्ञान भएको व्यक्तिलाई नियुक्ती गर्ने कुरा र कूटनीतिमा यस्ता राष्ट्रका स्वाभिमान झुक्ने अत्यन्त अमर्यादित कुराहरु । यो एकदमै आपत्तिजनक छ । यस्ता कुरा अन्तराष्ट्रिय सम्बन्ध समितिमा जानकारीमा आउनुपर्छ । अरु देशमा यस्तो भयो भने छानवीन गरेर दण्डित हुनुपर्छ, यस्तो नेताहरु र प्रधानमन्त्रीहरु । प्रतिनिधिसभामा प्रस्तुत गरिएको कुनै देशसँगको सम्झौंता जो अनुमोदनका लागि विचाराधिन छ । त्यसलाई हामी यस्तो गर्नेछौं, उस्तो गर्नेछौं भनेर कुनै व्यक्तिलाई यस्तो पत्र लेख्ने अधिकार हुन्छ ? यो संसदकै एउटा महत्वपूर्ण समिति भएको हुनाले म यहीँबाट हाम्रो माननीय सभापति महादेयमार्फत यो प्रेषित हो्स–यसमा छानविन गरेर कारबाही हुनुपर्छ’ उनले भने ।

 

 

उनले राष्ट्रको स्वाभिमान झुक्ने गरी प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई पत्राचार गरेर कूटनीतिक क्षेत्रमा अमर्यादित व्यवहार प्रर्दशन गरेको पनि बताएका छन् । बैठकमा बोल्दै सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले एमसीसीजस्तो गम्भीर विषयमा खुलस्त छलफल गर्न संसद सुचारु गराउने वातावरण बनाई दिन एमाले नेता रावलसँग आग्रह गरेका छन् । उनले एमसीसीको विषयलाई लिएर सरकारलाई मात्रै आलोचना गर्न नहुने पनि बताएका छन् । 

 

 

‘एमसीसी खुलस्त रुपमा संसदमा छलफल गर्ने वातावरण होस भनेर म एमाले माननीय भीम रावलज्यूलाई आग्रह गर्दछु । संसद चल्न नदिएका कारण यस्ता समस्या आएका हुन । त्यसकारण संसदमा यी विषयमा विस्तृत छलफल हुनुपर्छ’ उनले भने ।

 

 

यता, सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीले एमसीसी जनमत संग्रह गरेर अनुमोदन गर्ने वा नगर्ने टुंगोमा पु¥याउनुपर्ने बताएका छन् । उनले एमसीसीले मुलुकको राष्ट्रियतामाथि प्रश्न उठाएको तथ्य नभुल्न पनि सरकार र विभिन्न पार्टीका नेताहरुलाई सचेत गराएका छन् । 

 

‘अहिले एमसीसीको कुरा उठेको छ । यो राष्ट्रिय स्वाधिनतासँगको प्रश्न हो । यो राष्ट्रको असुरक्षा र सुरक्षा रणनीतिसँग जोडिएको विषय हो । यो गम्भिर विषय छ । यसलाई जनमत संग्रहमा लगेर टुंगो लगाऔं’ उनले भने ।

 

 

उनले एमसीसीजस्तो विषयमा बोल्न पनि नसक्ने राजनीतिक दलहरु रहेको भन्दै आपत्ति जनाएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै