
सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नरहेको दाबी गरेका छन् ।
प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताए । उनले पछिल्लो ५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनु पर्ने पनि बताए ।
महामन्त्री थापाले २०७४ साल यताको ५ वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाए । उनले कम्युनिष्ट नेता र पार्टीहरुले खेर फालेको ५ वर्षको समयका लागि जनतासमक्ष माफी माग्नुपर्ने बताए । महामन्त्री थापाले कम्युनिष्ट पार्टीहरुले जनताले देश विकासका लागि जिताएर पठाएको भएपनि ५ वर्षको अवसर खेर फालेकोले त्यसको लागि जनतासमक्ष क्षमा, याचना माग्नुपर्ने बताए ।
‘२०७४ देखि २०७९ सालसम्म यो ५ वर्षसम्मको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले पाएको हो । उसैले आज २०७९ सालको चुनाव गराउनु पर्दथ्यो । प्रदेश, स्थानीय, संघको चुनाव । यो ५ वर्षमा उसले गरेको उपलब्धिको आधारमा चुनावमा जानुपर्दथ्यो । आज जुन मुद्दाहरुमा चुनाव लडिँदैछन् यी मुद्दाहरु यो चुनावमा हुनुपर्ने नै होइन । त्यसकारणले गर्दा यो ५ वर्ष खेर गयो भन्ने हाम्रो आफ्नो ठम्याइ पनि हो र जनताको बीचमा पनि ५ वर्ष खेर फाल्नेले ५ वर्ष किन खेर फालेको भन्ने कुराको जवाफ जवाफ नदिकन, ५ वर्षको लागि माफी नमागीकन आज मञ्चमा उभिएर नेपाल कम्युनिष्ट पार्टीको नेता, नेपाल कम्युनिष्ट पार्टी भित्रका सबै घटकहरुले र मुलतः नेपाल कम्युनिष्ट पार्टी भित्रको नेकपा एमालेको आजको अध्यक्षले जसले जिम्मा लिनुभयो । ५ वर्षमा एकपटक जनताको बीचमा उभिएर मैले ५ वर्षको लागि म्याण्डेट पाएको थिएँ, मैले चलाउन सकिन, यसको लागि मलाई क्षमा देउ, मैले ५ वर्ष संसद चलाउन सकिन, मैले ५ वर्षको अवसरलाई प्रयोग गर्न सकिन भन्ने कुराको क्षमा एकपटक नमागिकन, माफीको याचना नगरीकन जनताको बीचमा एक किसिमले भन्दा मत माग्ने नैतिक आधार पनि छैन भन्ने नेपाली काँग्रेसको आफ्नो ठम्याइ हो, ’ महामन्त्री थापाले भने ।
उनले अबको ५ वर्ष नेपाली काँग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बेला भएको बताए । महामन्त्री थापाले अबको ५ वर्ष काँग्रेसले खेर फाल्न नचाहेको बताए । उनले विगतका ५ वर्षमा कम्युनिष्टहरुले खेर फालेको समयलाई काँग्रेसले त्यो क्षतिलाई पूरा गर्ने गरेर काम गर्ने दाबी समेत गरे ।
महामन्त्री थापाले यसपटकको स्थानीय निर्वाचनमा काँग्रेसबाट जित्ने सदस्यहरुले श्रोत, साधनको अपचलन नगर्ने दाबी गरे । उनले अबको ५ वर्ष विगतको ५ वर्ष भन्दा फरक रहने पनि बताए । महामन्त्री थापाले कुनै पनि ठाउँमा विधि मिचेर मनलाग्दी श्रोत, साधनको दुरुपयोग नगर्न पनि निर्देशन दिए ।
महामन्त्री थापाले नेपालको समृद्धि र समुन्नतिको बारेमा विभिन्न पार्टीपंक्तिबीच विस्तृत छलफल हुन आवश्यक रहेको पनि बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit