
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा सबैका लागि व्यवस्था हुनुपर्ने बताएका छन् ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेको शान्ति निकेतन माविको नवनिर्मित भवनको आज उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा ओलीले यस्तो बताएका हुन् । विद्यार्थीको भविष्य शिक्षकको हातमा हुने भएकाले शिक्षक नियुक्ति गर्दा भनसुनले नभई उत्कृष्ट शिक्षक परीक्षाबाट लिनुपर्ने उनको भनाइ थियो ।
विविधतामा एकता आवश्यक पर्ने भएकाले विद्यार्थीलाई कक्षादेखि नै देशभक्ति सिकाउनुपर्ने उनले बताए ।
सूर्यविनायकमा निर्माणाधीन अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण भइरहेको चर्चा गर्दै ओलीले भने, “यहाँको चिडियाखाना विस्तार कार्य रोकिएको छ, मैले सुरु गरेका विकासका काम विभिन्न कारण देखाउँदै रोक्न काम भइरहेको छ, तर हामी आत्तिएका छैनौं, किनकी सबैलाई थाहा छ, रातपछि फेरि घाम लाग्छ ।”
कार्यक्रममा ८ नं वडाका वडाध्यक्ष एवं सूर्यविनायक नगरपालिका सामाजिक विकास समितिका संयोजक किरण थापाले २० कोठे दुईवटा भवन निर्माण सम्पन्न गरेर भवन हस्तान्तरण गर्न पाउनु ठूलो उपलब्धि भएको बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit