Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

राजेन्द्र महतोको बोलीमा लगाम लगाउँन प्रधानमन्त्रीलाई योगेश भट्टराईको सुझाव

नेकपा एमालेका नेता योगेश भट्टराईले नवनियुक्त उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको बोलीमा लगाम लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

 

शुक्रबार जनता समाजवादी पार्टी सरकारमा सहभागी भएपछि नेता भट्टराईले असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस नियुक्त भएका उपप्रधानमन्त्रीले उठाउनु राम्रो संकेत नभएको टिप्पणी गरेका हुन् । शपथ खानासाथ मन्त्री महतोले बहुराष्ट्रिय राज्यको बहस निकालेका थिए ।

 

मन्त्री महतोको अभिव्यक्तिले देशलाई फेरि द्वन्द्वतर्फ फर्काउने आशंका नेता भट्टराईको छ । 

 

‘पहिलो र दोस्रो संविधान सभामै असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस आज (शुक्रबार) नियुक्त भएका उपप्रधानमन्त्री पुनः उठाएछन्,’ भट्टराईले  लेखेका छन्, ‘संकेत राम्रो छैन । देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यू ।’

 

उनका अनुसार संविधानको धारा ३ ले राष्ट्रको परिभाषा यसरी गरेको छ– ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’

 

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै