
नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले देश बनाउन बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् ।
बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताएका हुन् । उनले दलहरुको गठबन्धनले देश बनाउन नसकिने बताए ।
उनले जति धेरै राजनीतिक दल हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षप हुने बताए । देशलाई बनाउने हो भने नेपालमा थोरै बलिया राष्ट्रिय शक्तिको निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
महासचिव पोखरेलले स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने भन्दै उनीहरु राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्ने बताए ।
महासचिव पोखरेलले भन्सार नीतिमा गरिएको हेरफेरका कारण विदेशी मुद्राको सञ्चितिमा गिरावट आएको बताए । व्यापारीहरुले आयातमुखी नीति फेरि नआउने ठानेर अस्वाभाविक रुपमा आयात गरेका कारण विदेशी मुद्रा सञ्चितिमा ह्रास आएको बताए ।
उनले राज्यले हुण्डी कारोबारीलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरेको बताए । रेमिट्यान्स बैंकिङ प्रणालीबाट आउन छाडेको उल्लेख गर्दै उनले बैंकिङ नीतिलाई प्रभावकारी बनाउन सकेको भए त्यसो नहुने धारणा राखे ।
सरकारले स्रोत नखुलेको लगानी भित्र्याउने नीति अगाडि बढाएसँगै बजारबाट पैसा हराएको उनले बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit