Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

सहज हुन थाल्यो पेट्रोलियम पदार्थको बिक्री वितरण

काठमाडौंमा पछिल्लो केही दिनयता पेट्रोल पम्पहरुमा देखिएको लामो लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो ।

 

निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाउने सहमति भएको थियो । सहमति भएपछि पेट्रोलियम बिक्रेताले निगमको डिपोबाट पेट्रोलियम पदार्थ उठाएका थिए । पेट्रोलियम बिक्रेताले कमिशन वृद्धिको माग गर्दै पेट्रोलियम पदार्थको बिक्रीवितरण रोकेका थिए । 

 


पेट्रोलियम बिक्रेताले इन्धनको बिक्रीवितरण बन्द गर्दा देशभर इन्धनको हाहाकार देखिएको थियो । 
निगम र व्यवसायीबीच सहमति भएपछि आइतबार बिहानदेखि पम्पले पेट्रोलियम पदार्थ उठाउन थालेका थिए । निगमले आइतबार १६ सय  किलोलिटर पेट्रोल र ११ सय किलोलिटर डिजेल बजारमा पठाएको थियो । आज ११ सय किलोलिटर डिजेल र पेट्रोल डिपोबाट वितरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

 

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भएसँगै पेट्रोलपम्प खाली देखिएका छन् । इन्धन भर्न कुनै पनि पम्पमा लाइन बस्नुपर्ने अवस्था नरहेको उनले बताए । निगम र समन्वय समितिबीच पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागका सम्बन्धमा आगामी जेष्ठ १५ गतेसम्ममा सक्ने सहमति भएको थियो ।

 

कमिशन र ढुवानी भाडा वृद्धिको माग गर्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले आन्दोलन सुरु गरेको थियो । निगमले अघिल्लो महिना पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को नोक्सानी रहेको भन्दै मूल्य बढे पनि बिक्रेताले कसिमन भने नबढाउने निर्णय गरेको थियो । व्यवसायीले डिजेल/पेट्रोल र मट्टितेलको बिक्रीबाट प्रतिलिटरको मूल्यबाट ३.३९५ प्रतिशत कमिसन पाउँदै आएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै