Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

चितवनका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । 

 

 

शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका ७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरुलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा नहुँदा राष्ट्रियता बिहीन भएर बस्नुपरेको अवस्थालाई केन्द्रित गर्दै जग्गाधनी प्रमाणपत्र वितरण गरिएको बताएकी छन् । 

 

 

उनले जग्गाधनी प्रमाणपत्र नहुँदा नागरिकतासमेत नपाएको र संविधानले दिएको अधिकारको उपभोग समेत गर्न नपाएको बताएकी छन् । उनले यसअघिका सरकारले जग्गाधनीहरुलाई लालपुर्जा उपलब्ध गराउने काम प्राथमिकतामा नराखे पनि अहिलेको सरकारले जग्गाधनीहरुलाई लालपुर्जा दिने काम पहिलो प्राथमिकतामा राखेको बताएकी छन् । उनले वास्तविक भूमिहीनहरुलाई अधिकार प्राप्त गर्नबाट वञ्चित गराउन नहुने बताएकी छन् ।

 

 

‘लालपुर्जा नभएको कारणले गर्दा राष्ट्रियता बिहीन भएर बस्नुपरेको अवस्था छ । नागरिकता पनि नपाएको अवस्था, नागरिकता नभएपछि त्यो व्यक्ति यो देशको नागरिक भएन नि । यो देशको नागरिक नै नभएपछि यो देशको संविधानले दिएको अधिकार उपभोग गर्न पायो त ? यो स्थिति दर्दनाक रहेछ । त्यसपछि हामीले सरकारमा सल्लाह गरेर यसलाई प्राथमिकतामा राखेर अभियान चलाउँ भन्ने हिसावले तुरुन्तै महोत्तरीको रामगोपालपुर बाट सदरमुकाममा होइन, समस्या जहाँ हो त्यहीँ लालपूर्जा वितरणको थालनी गरेका थियौँ । त्यसपछि सप्तरी र देशभर नै यो अभियान चलाइयो । यो अभियान अन्तर्गत करिव १२ हजार नागरिकहरु जो आफ्नो सबै अधिकार प्राप्त हुँदाहुँदै पनि कानूनि रुपबाट अधिकार पाउनबाट वञ्चित हुनुपरेको थियो । यहाँ यसअघि पनि धेरै जनप्रतिनिधिहरु आए होलान्, यसअघि पनि गर्न सकिन्थ्यो तर प्राथमिकतामा परेन’ उनले भनिन् ।

 

 

कार्यक्रममा जग्गाधनीको प्रमाणपत्र पाएकाहरुले खुशी व्यक्त गरेका छन् । अहिलेसम्मको सरकारले आफूलाई नेपाली नागरिक नै नठाने पनि यस सरकारले जग्गाधनी प्रमाणपत्र वितरण गरेर आफ्नो अधिकार दिलाएको बताएका छन् ।

 

 

‘अहिलेको सरकारले दियो खुशी लागेको छ । अब आउने सरकारले दिन्छ दिँदैन, हामी नभए पनि हाम्रा छोरा नातीलाई त भयो नि’ लाभग्राही मध्येकी एक चममाया मगरले भनिन् ।

 

 

लाभग्राहीहरुले कानुनी रुपबाट जग्गाको धनी बनेपछि संविधानले दिएको अधिकार पाउनेमा आशावादी रहेको बताएका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै