Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

स्वास्थ्य सतर्कता अपनाएकाले कोरोना संक्रमण घट्दै छ : स्वास्थ्य मन्त्रालय 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको बताएको छ । 

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिएकी छन् । शुक्रबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले पहिले एक जना मान्छेमा भएको भाइरस ३ जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै घटिरहेको स्पष्ट पारेकी छन् । उनले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यहरुमा पनि ओमिक्रोनको संक्रमण दर घटिरहेको र त्यसको प्रभाव नेपाल परेको तथ्य पनि स्मरण गराएकी छन् । उनले स्वास्थ्य सतर्कता अपनाएकै कारण यसको संक्रमण दर घटेकाले यसको पालना गर्न पनि सबै नागरिकलाई पुनः सचेत गराएकी छन् । 

 

 

‘पहिल्लो डेटाको अनुसार नेपालमा अहिले इन्फेक्सनको दर घटेको देखिन्छ ।  भाईरसले संक्रमण गर्ने दर जुन पहिले थियो, जस्तो एउटा भाईरसले कुनै एउटा प्रदेशमा एउटा संक्रमित मान्छेले ३ जनालाई संक्रमित गथ्र्यों भने त्यो दर चाँहि अब विस्तारै घटिराखेको छ । र, यो अवस्था सबै प्रदेशमा छ । संक्रमण दर डिक्रिजिङ अवस्थामा छ । अनि मैले के जोड्न चाहे भने हाम्रो संक्रमण दर इन्डिया र चाईनासँग सधैं जोडेर हेरेका छौं हामीले । अनि इन्डियामा पनि आन्ध्र प्रदेशबाहेक सबै राज्यको संक्रमण दर विस्तारै घटिराखेको छ । सोही अनुसार हाम्रो पनि संक्रमण दर घटिराखेको छ ।  तथापि सतर्कता अनिवार्य छ । बढि सतर्कता अपनाएर पनि यसको दर घटेको हुन सक्छ । स्वास्थ्य मापदण्ड अपराउने, भीडभाडमा नजाने र खोप लगाउने काम गर्नु प-यो । हाम्रो प्रक्षेपण चाँही के छ भने यसको दर घट्दो अवस्थामा छ’ उनले भनिन् ।

 

 

त्यस्तै, नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन अभाव नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता मिश्रले नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरिएको बताएकी छन् । उनका अनुसार खोपको अभाव हुन नदिन प्रदेश स्तरमै भण्डार केन्द्रहरुको व्यवस्था भएको र हुँदै गएको बताएकी छन् । त्यसैगरी सो खोप लगाउने काममा पनि कोही नागरिक नछुटून् भनेर सरकारले नागरिकतालगायतका डकुमेन्टहरु नहुँदा पनि खोप लगाउन पाउने व्यवस्था गरेको उनले स्पष्ट पारेकी छन् ।

 

 

‘पहिलो कुरा भयो खोपको उपलब्धता ।  हालको अवस्था हेर्नु भयो भने हामीसँग खोपको कुनै कमी छैन । विभिन्न प्रकारका खोप पाईपलाईन पनि छ । र यदि कुनै खोप छैन भने त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा स्वास्थ्य मन्त्रालय एकदमै सिरियसली लागि राखेको छ । दोस्रो कुरा, स्वास्थ्य मन्त्रालयले संघीय मन्त्रालय भएको हुनाले श्वास्थ्य मन्त्रालयले खोपको व्यवस्थापन गर्ने हो र खोप जिल्लाजिल्लामा उपलब्ध गराई दिनुपर्ने हुन्छ ।  त्यो हिसावले समयमै खोप उपलब्ध गराउनका लागि कतिपय ठाउँमा त भण्डारण केन्द्रको स्थापना पनि भईसकेको छ । मन्त्रालयले त्यो दिशामा पनि काम गरेको छ । स्थानीय निकायसँगको समन्वय एकदमै बढाएको छ । कुनै पनि व्यक्ति खोप लगाउनबाट नछुटून भनेर खोप लगाउनका लागि नागरिकतालगायतको डकुमेन्ट अनिवार्य पनि गराइएको छैन । तर त्यसका लागि स्थानीय वडाध्यक्षले भने भनिदिनुपर्ने हुन्छ’ उनले भनिन् ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि सबै नागरिकलाई पटकपटक अपिल गर्दै आएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै