Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

उखु किसानको रकम भुक्तानी नगरे अनसन बस्छु : सांसद अमनलाल मोदी

सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारले तत्काल उखु किसानहरुको बक्यौता रकम भुक्तानी नगरे माइतीघर मण्डलामा आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

 

 

सांसद मोदीले उखु किसानहरुले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले उनीहरुलाई भुक्तानी नदिएको भन्दै अब आफै आमरण अनसनमा बसेर भुक्तानी दिलाई छाड्ने अठोट समेत व्यक्त गरेका छन् । मंगलबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले उखु किसानहरुको भुक्तानीको समस्या तत्काल समाधान नभए सांसदहरु आफैले आन्दोलन गरेर सरकारलाई घुडा टेकाउने बताएका छन् । उनले उखु किसानहरुको भुक्तानी दिलाउने गरी आवश्यक मोडल बनाउन सरकारलाई कुनै समस्या नरहेको दाबी समेत गरेका छन् ।

 

 

‘अब मजदुरहरु, किसानहरुको बारेमा राज्यले सुन्दैन भने संसद त चलेन । संसद चलेको छैन । अवरोध छ । अब किसानहरुले आन्दोलन गर्नुपर्दैन । हामी आन्दोलन गर्छौ, माईतीघर मण्डलामा । अनसन हामी बस्छौं । आन्दोलन गर्छौ । यो चाँही घोषणा हो । यदि हामी सांसदहरु नै अनसन बस्यौ भने म त बस्छुबस्छु । तपाईहरुले यो कुरा सल्टयाउनु भएन भने हामी आमरण अनसन बसेर पनि, आन्दोलन गरेर पनि तपाईहरुलाई घुडा टेकाउछौं’ उनले भने ।

 

 

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले उखु किसानहरुको भुक्तानी तत्काल गर्न सरकारलाई सचेत गराएका छन् । उनले कुनै पनि किसानले फेरी आन्दोलन गर्नु नगर्ने गरी सरकारले उनीहरुको समस्या समाधान गर्न ढिलाई गर्न नहुने स्पष्ट पारेका छन् ।
नेकपा माओवादी केन्द्रकी अर्का सांसद धर्मशीला चापागाँईले समितिले पटक पटक उखु किसानको भुक्तानी गर्न दिएको निर्देशन सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाएकी छन् । उनले सरकारले किन उखु किसानहरुलाई भुक्तानी दिन नसकेको ? भनि पटकपटक प्रश्न समेत गरेकी छन् ।

 

 

यता, सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले आफ्नो मन्त्रालयले उखु किसानहरुको भुक्तानीका लागि प्रयास गरिरहेको बताएका छन् । करिब १ अर्ब ७० करोड उखु किसानहरुको भुक्तानी हुनुपर्नेमा आफ्नो मन्त्रालयले करिब ८ करोडमा झारेको पनि उनले समितिलाई जानकारी गराएका छन् ।

 

 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द्रप्रसाद शर्माले उद्योगहरुको दायित्वमा रहेको उखु किसानलाई दिने भुक्तानी सरकारले दिन नमिल्ने बताएका छन् । उनले ती समस्या समाधानका लागि सरकार लागि परेको पनि बताएका छन् ।

 

 

अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुस्करले उखु किसानहरुको समस्या समाधान लागि आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । उनले कृषि क्षेत्रको विकासमा लगानी बढाउन अर्थ मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गर्ने बताएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै