
महालेखा परीक्षक टंकमणि शर्माले मुलुकमा आर्थिक सुशासन कायम हुन नसक्नुमा कर्मचारी, नेतादेखि व्यवसायीसम्म दोषी रहेको बताएका छन् । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै महालेखापरिक्षक शर्मालेसरकारले गरेका कामको गल्ती कमजोरी थाहा पाए पनि कार्यान्वयन गर्न नसकिएको बताए ।
महालेखापरीक्षक शर्माले मुलुकमा आर्थिक अनुशासन नहुनु, जनताले सुशासनको प्रत्याभूति हुन नसक्नु, भष्ट्रचार बढ्नु, अनियमिता हुनु कुनै एक क्षेत्र मात्रै दोषी नभए समग्र क्षेत्र दोषी रहेको जिकिर गरे । नेपाली समाजले अहिले विकास निर्माण, शिक्षा, स्वाथ्य, रोजगारी, राज्य वा सरकारले
आफ्नो शासकिय भूमिका पूर्ण रुपमा निर्वाह गरी पारदर्शिता, जवाफदेहिता, भष्ट्रचारमुक्त र मुद्राको सार्थकता खोजेको महालेखापरीक्षक शर्माको भनाइ छ ।
साथै शर्माले नेपाली लेखा परिक्षक अन्तर्राष्ट्रिय लेखा व्यवसायीले पत्याउन योग्य बन्नु पर्ने आवश्यकता रहेको उल्लेख गरे । सुधारको काम गर्न चाहे हुने भन्दै यो वर्षको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगसँग समन्वय गरी स्थानीय तहको उम्मेदवार हुदाँ सरकारी राजश्व बाँकी, बेरुजु भए तिर्नूपर्ने आचार संहिता बनाउँदा देशैभरबाट धेरै पैसा उठेको उनको भनाइ छ ।
शर्माले लेखा परीक्षकले लेखा परीक्षण गर्दा राम्रो कुराको संकलन गर्ने नगरेको बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit