Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

राप्रपाका अध्यक्षत्रयद्वारा पार्टीमा फुट आउन नदिने प्रतिबद्धता

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा फुट आउन नदिने प्रतिबद्धता जनाएका छन् ।

 

उनीहरुले पार्टीको बृहत्तर हितका लागि आफूहरु त्याग गर्न पनि तयार रहेको बताएका छन् । बुधबारबाट काठमाण्डौमा सुरु भएको पार्टी एकताको महाधिवेशनमा बोल्दै अध्यक्ष थापाले महाधिवेशनबाट पार्टीलाई एकताबद्ध बनाउने प्रतिज्ञा गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । उनले नेतृत्व चयन सकेसम्म सर्वसम्मत हुने, नभए लोकतान्त्रिक विधि र प्रक्रियालाई मानेर अघि बढ्ने स्पष्ट पारेका छन् । 

 

‘यथासम्भव सर्वसम्मतिको आधारमा नेतृत्व चयन गर्ने हामीले प्रयास गर्नु पर्दछ । कथमकदाचित सहमतिबाट हामीले नेतृत्व छनौट गर्न सकेनौ भने पनि प्रजातान्त्रिक अभ्यास र विधिबाट नेतृत्व छानेर पार्टीलाई आगामी दिनमा एकतावद्ध ढंगबाट अघि बढाउने प्रतिज्ञा तपाई/हामी सबैले गर्नु पर्दछ’ उनले भने ।

 

अर्का अध्यक्ष राणाले पार्टी एकतामा खतरा उत्पन्न हुन नदिन आफूले अध्यक्षमा दाबी नगर्ने निर्णय लिएको बताएका छन् । उनले अध्यक्षमा आफू विजय हुने भन्दा पनि पार्टीलाई एकताबद्ध बनाउने कुरालाई आफूले प्राथमिकता दिएको बताएका छन् । 

 

‘मैले अहिलेको अवस्थामा पार्टीको बृहत्तर हित र एकताका लागि आफ्नो दावी छोडनु पर्छ भन्ने टुंगोमा पुगे । त्यो टुंगोमा पुग्दा धेरै साथीहरुले अत्यन्त चित्त दुखाए । तर मैले आफू विजयी हुने भन्दा पनि पार्टीलाई एकतावद्ध राखेर अघि बढनुपर्ने अवस्थालाई प्राथमिकता दिएर आफूले अध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हुँ’ उनले भने ।

 

पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूले नयाँ नेतृत्वको चयन गर्नुपर्ने प्रस्ताव अघि सारेको अध्यक्ष डा. लोहनीले बताएका छन् । उनले अध्यक्षमा राजेन्द्र लिङदेनलाई समर्थन गर्ने घोषणा यस अघि नै सकेका छन् । पार्टीमा नयाँ युगको सुरुवात महाधिवेशनले गर्ने भन्दै उनले पार्टी फुट्लाकि भनेर चिन्ता नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । 

 

‘तपाईहरुले पार्टी फुटलाकि भन्ने चिन्ता नगर्नुस्, पार्टीमा फुट हुँदैन । अव पार्टीलाई एकतावद्ध बनाएर लैजानुको विकल्प छैन । त्यही काममा हामी लाग्नेछौं । नेतालाई सम्मान, कार्यकर्तालाई माया गरेर मात्रै पार्टीले मुलुकलाई निकास दिन सक्नेछ’ उनले भने ।

 

उनले राष्ट्रको हित र नेपालका धर्म, संस्कृतिको संरक्षण र संवद्र्धनका लागि आफ्नो पार्टीको विकल्प नरहेको दाबी समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै