
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ ।
आज १४ औँ महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रीय प्रचारप्रसार समितिले हटाएको हो । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाउनुका साथै प्रदर्शनीमार्गमा भएको फोहोरसमेत सफा गरिएको नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले बताएका छन् । उनले प्रचारप्रसारका लागि टांगिएका ब्यानरलगायतका सामग्रीहरुको सरसफाई थालिएको बताएका छन् । पार्टीको प्रचारप्रसार समिति अन्तर्गतबाट निर्माण गरिएको स्वागत र श्रृंगार समितिका संयोजक गोविन्द पुडासैनीलाई टाँगिएका प्रचारसामग्री हस्तान्तरण गरेर सरसफाई गरिएको हो ।
‘प्रचारप्रसार सामग्रीहरु जति हामीले टाँसेका थियौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको क्रममा प्रचारप्रसार भयो । केन्द्रिय प्रचारप्रसार समितिले उपत्यकाव्यापी जुन एक हप्ते प्रचार अभियान गरेको थियो । त्यसक्रममा टाँसिएका सामग्री जति छन्, ती सबै सामग्रीहरु केन्द्रिय प्रचारप्रसार समितिअन्तर्गत सबै साथीहर मिलेर हामी सरसफाई गर्ने क्रममा लागेका छौँ । प्रदर्शनीमार्गमा हामीले सबै सामग्री सफाई गरेका छौँ’ शर्माले भने ।
मंसिर २४ गतेबाट शुरु भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशन मंसिर २९ गते बुधबारबाट सकिएको छ । अझै सभापति बाहेकका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको मतगणना भने बाँकि छ । १४ औँ पार्टी केन्द्रीय महाधिवेशनबाट प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा विजयी भएका छन् । पहिलो चरणमा नेपाली कांग्रेसको विधान अनुसार सभापतिका ५ उम्मेदवार कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा दोस्रो चरणको मतदान भएको थियो । जसमा शेरबहादुर देउवाले २,७३३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कोइरालाले १,८५५ मत प्राप्त गरेका थिए । दोस्रो चरणका लागि भएको मतदानमा ४ हजार ६२३ मत खसेको थियो । सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् २,३११ मतको आवश्यक पर्दथ्यो । खसेको मतमध्ये ३५ मत भने बदर भएको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit